कभर स्टोरी

देउवाले गरे नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त

By Bala Adhikari

April 01, 2018

काठमाडौँ, चैत १८ । पार्टीका दिवंगत नेता खुमबहादुर खड्काप्रति नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेर उनले आज उनको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि अर्पण गरेका छन् । काँग्रेस केन्द्रीय सदस्य, पार्टीका पूर्वमहामन्त्री तथा पूर्वमन्त्री नेता खड्काको शुक्रबार साँझ भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा ६७ वर्षका उमेरमा निधन भएको हो ।

नेता खड्का मिर्गौला र छातीको संक्रमणबाट पीडित थिए । उनको पार्थिव शरीर शनिबार राति नेपाल ल्याई सानेपास्थित उनकै निवासमा राखिएको छ ।

यसअघि आज बिहान काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा प्रकाशशरण महत, डा शेखर कोइरालालगायतले नेता खड्काको निवास सानेपा पुगी उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्न बिहानैदेखि उनको निवासमा काँग्रेसका सयौंँ नेता कार्यकर्ताको भीड लागेको छ ।

उनको पार्थिव शरीर आज अपराह्न १ बजे श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा दासंस्कार गरिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।