आर्थिक

काठमाडौंका कुन कुन स्थानमा वाइफाइ फ्री हुँदैछ हेर्नुहोस्

By Bala Adhikari

April 01, 2018

काठमाडौं, चैत १८ । काठमाडौं महानगरपालिकालका विभिन्न सार्वजनिक स्थानहरुमा फ्रि वाइफाइ प्रदान गरिने भएको छ ।

महानगरपालिकाले विभिन्न महत्वपूर्ण सार्वजनिक स्थानमा फ्रि वाइफाइको सेवा उपलब्ध गराउने भएको हो । उक्त वाइपाइ सेवाका लागि महानगरपालिका र इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंक कम्युनिकेशनबीच आइतबार सम्झौता भएको छ ।

हनुमानढोका दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र, स्वयम्भु, बालाजु र शंखपार्कमा निःशुल्क वाइफाइ सेवा सुरु गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वल्र्ड लिकंंका निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरेका छन् ।

कम्पनीले २ अबको महिनाभित्र तोकिएका स्थानमा निःशुल्क वाइफाइ जडान गर्ने गर्ने बताइएको छ । यो कार्यमा लाग्ने सबै लगानी वल्र्ड लिंकले नै गर्ने भएको जानकारी गराइएको छ । फ्रि इन्टरनेट सेवा सुचारु भएपछि प्रत्येक सेवाग्राहीले एक दिनमा ३० मिनेट निःशुल्क सेवा प्राप्त गर्नेछन् ।

वाइफाइ अन गरेपछि स्वतः कनेक्ट हुने गरी व्यवस्था मिलाइनेछ । वाइफाइ जडान सम्बन्धी गरिएको अध्ययन अनुसार एक पटकमा वाइफाइका प्रयोगकर्ताको न्युनतम संख्यालाई आधार मानेर हरेक स्थानमा १० एमविपिएस व्याण्डविथ क्षमताको सेवा जडान हुनेछ । जसमा पशुपति क्षेत्रमा एक्सेस प्वाइन्ट ११ वटा हुनेछन् भने बौद्धमा ४ वटा, शंखपार्कमा २ वटा, वालाजु वाइसधारा उद्यानमा ७ वटा, स्वयम्भूमा ५ वटा र वसन्तपुरमा ९ वटा प्वाइन्ट हुनेछन् ।

प्रयोगकर्ताको दृष्टिले पशुपति क्षेत्रमा एक पटकमा २०० देखि ७०० जनासम्मले वाइफाइ प्रयोग गर्ने अध्ययनले देखाएको छ भने बौद्धमा २५० जनादेखि ५०० जना, शंखपार्कमा ५० देखि २०० जना, बालाजुमा २०० देखि ७०० जना, स्वयम्भूमा २०० देखि ३०० जना, बसन्तपुरमा २०० देखि ३०० जनासम्मले सेवा लिन सक्नेछन् ।

यसको प्रभावकारिता हेर्न महानगरको सूचना प्रविधि महाशाखा प्रमुखको संयोजकत्वमा सार्वजनिक निजी साझेदारी एकाइबाट १ जना र सम्बन्धित पक्षका प्रतिनिधि १ जना रहने गरी अनुगमन समिति हुने व्यवस्था गरिएको छ ।

नेपालमा इन्टरनेटको प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ । कतै यसले विकृत रुप लिएको छ त कतै यसको प्रयोगले अपरिहार्य बनेको छ । अबका मानिस इन्टरनेट बिना समय बिताउन त के कल्पना पनि गर्न नसक्ने स्थितिसम्म पुगिसकेका छन् ।