कभर स्टोरी

मानवसेवा आश्रमले गर्यो सडकमा अलपत्र परेकालाई सेवा

By Bala Adhikari

April 01, 2018

काठमाडौँ, चैत १८ । स्थापनाको छ वर्षको अवसरमा मानवसेवा आश्रमले सडकमा अलपत्र परेका करीब एक हजार मानवलाई सेवा गरेको छ ।

वि.सं २०६९ मा स्थापित आश्रमले काठमाडौँ, मकवानपुर, चितवन, गोरखा, लमजुङ, पर्सा, बागलुङ, कास्की र रुपन्देहीमा रहेका मगन्ते, सडकमा अलपत्र परेका, घरवारविहीन, बेवारिसे र मनोरोगीलाई आवासीय तथा गैर आवासीय रुपमा व्यवस्थापन गरेको छ ।

आश्रमले पशुपति क्षेत्र विकास कोषको समन्वयमा केही दिनदेखि पशुपति क्षेत्रमा माग्दै जीवनयापन गर्दै आएका विभिन्न उमेरका मानिसलाई उचित व्यवस्थापन गरिरहेको छ । विश्वका हिन्दू धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल पशुपतिनाथ मन्दिर तथा त्यस आसपास क्षेत्रमा अब कसैले पनि भोकै र नाङ्गै रहनु नपर्ने आश्रमले बताएको छ ।

आगामी वर्षभित्रमा आश्रमले मकवानपुर, गोरखा, लमजुङ र बागलुङ जिल्ला एवं भरतपुर, वीरगञ्ज, बुटवल, र ललितपुर नगरलाई सडकमा सहयोगापेक्षी मानवरहित महानगर घोषणा गर्ने लक्ष्य राखेको आश्रमका काठमाडौँ संयोजक सुमन बर्तौलाले बताएका छन् ।

केही समयदेखि पशुपति क्षेत्रका सडकमा बेवारिसे बनेका, भौतारिएका र दीनदुःखीको व्यवस्थापनका लागि सक्रिय भएको र यसमा पशुपति क्षेत्र विकास कोषले सहयोग गरेको छ ।

मानवसेवा आश्रमले शनिबार पशुपति क्षेत्रबाट सबै सहयोगापेक्षी मानिसलाई संरक्षण दिएको छ । यसरी पाइएका बेवारिसे मानिसलाई नुहाउने र सरसफाइ गरिदिने गरिएको छ ।

घरपरिवार नभएका र मागेर जीवन गुजार्दै आएकाहरुलाई घर पठाउने वा आश्रममा राखेर सेवा दिनेगरी काम अगाडि बढाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिएका छन् ।