कभर स्टोरी

लोकसेवा आयोगको मोबाइल एप्स सार्वजनिक

By Bala Adhikari

June 15, 2017

काठमाडौँ, १ असार । आयोगको ६७औँ वार्षिकोत्सवको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले मोबाइल एप्सको सार्वजनिक गर्नुभयो । लोकसेवा आयोगका हरेक गतिविधि अब मोबाइल एप्सबाट जानकारी लिन सकिने भएको छ । गुगलबाट ‘पिएससी नेपाल’ मोबाइलमा डाउनलोड गरी मोबाइलबाटै विज्ञापन, परीक्षाको नतिजा र स्वीकृत नामावली लगायत आयोगका हरेक गतिविधिबारे जानकारी आफ्नै मोबाइलबाट लिन सकिन्छ ।

आयोगले अनलाइन दरखास्त दिने व्यवस्थालाई थप सुधार गर्नुका साथै जतिसक्दो चाँडो अनलाइन पेमेन्टको समेत व्यवस्था गर्ने आयोगले जनाएको छ । उक्त अवसरमा उपराष्ट्रपति पुनले दुर्गम क्षेत्रका नागरिकका लागि लोकसेवाको सुविधा अझ सहज पहुँचको व्यवस्था हुनुपर्नेमा जोड दिए । बेलाबेलामा संवैधानिक निकायमाथिको निष्पक्षतामा प्रश्न र गुनासाहरू उठिरहेको सन्दर्भमा लोकसेवा आयोगको निष्पक्षतामाथि अहिलेसम्म कुनै प्रश्न नउठेको बताउँदै उपराष्ट्रपतिले यो लोकसेवाका लागि सकारात्मक पक्ष हो भन्ने स्पष्ट पारेका थिए ।

सो समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोकसेवा आयोग राजनीतिक पार्टीको प्रभावमा नपर्ने र जागिरको भर्ती केन्द्र भन्दा टाढै रहने संस्था रहेको स्पष्ट पारेका थिए । नेपालमा सोर्सफोर्सको उद्योग अत्यन्त फस्टाउँदै गएको भन्दै प्रधानमन्त्री देउवाले त्यसमा आयोग नितान्त फरक र अलग अवधारणा रहेको बताएका थिए । आयोगको परीक्षण प्रविधिमा सुधार ल्याउन र गुणस्तरमा अभिवृद्धि गर्न राजपत्राङ्कित प्रथम श्रेणी अप्राविधिकतर्फको पाठ्यक्रममा आमूल परिवर्तन गरिएको अध्यक्ष उमेश मैनालीले जानकारी गराएका थिए । आयोगले वार्षिकोत्सवको अवसरमा तीनजना कर्मचारीलाई यो वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार समेत प्रदान गरिएको थियो ।