आर्थिक

क्रिकेट मैदान निर्माणका लागि फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने

By Bala Adhikari

April 02, 2018

चितवन, चैत १९ । क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।

फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजिरहेका बेला महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले जग्गा उपलब्ध गराउने घोषणा गरेकी हुन् । भरतपुर महानगर सबै सम्भावना भएको क्षेत्र हो, रेणु दाहालले भनिन् क्रिकेटका लागि चितवन आउन आह्वान गर्छु, महानगरले सक्दो सहयोग गर्छ ।

धुर्मुस–सुन्तली फाउण्डेसनले प्रदेशन नं ३ का विभिन्न क्षेत्रमा रंगशालाका लागि जग्गा खोजी गरिरहेको थियो । महानगर प्रमुख दाहालले पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं २० मा निर्माण हुँदै गरेको रंगशालाको मैदान उपलब्ध गराउन महानगर तयार रहेको बताइन् ।

उनले आवश्यक पर्ने आर्थिक र भौतिक सहयोग गर्नसमेत तयार छ भन्दै आजै बोर्ड बैठकबाट अनुमोदन गरेर फाउण्डेसनलाई पत्राचार गर्ने बताइन् । चित्रवन रंगशाला भएको ठाउँमा क्षेत्र विस्तार गरेर क्रिकेट रंगशाला बनाउन सकिने महानगर प्रमुख दाहालको भनाइ थियो ।

तत्कालीन प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन प्याकेज घोषणाका क्रममा उक्त रंगशालाका लागि रु ५० लाख विनियोजन गरेका थिए । त्यसमा रु १९ लाखमात्रै खर्च भएको र अरु रकम फर्किएको थियो ।

अहिले भरतपुर महानगरले उक्त रंगशालाका लागि रु एक करोड बजेट छुट्याएको बताएको छ ।