कभर स्टोरी

समाचार सन्तुलनमा सम्प्रेषण गर्न निर्वाचन आयोगको आग्रह

By Bala Adhikari

June 15, 2017

काठमाडौँ, १ असार । निर्वाचनको संवेदनशीलतालाई ध्यान दिँदै सत्य, तथ्य सूचना र समाचार सम्प्रेषण गर्न निर्वाचन आयुक्त सुधीरकुमार शाहले आमसञ्चार माध्यमलाई आग्रह गरेका छन् ।

निर्वाचन आयोगद्वारा आयोजित सञ्चारमाध्यमले पालना गर्नुपर्ने स्थानीय तह निर्वाचन आचारसंहिता सम्बन्धी अन्तक्र्रियामा कार्यक्रममा बोल्दै पहिलो चरणको स्थानीय तहको निर्वाचनमा केही मिडियाबाट आचारसंहिता उल्लङ्घनका घटना भएको बताउँदै आगामी दिनमा त्यस्ता कार्यलाई सुधार गर्नुपर्ने प्रष्ट पारेका थिए । स्थानीय निर्वाचनमा उम्मेदवारी दर्ता गरेपछि प्रचारप्रसारका क्रममा हुनसक्ने आचारसंहिता उल्लङ्घनलाई मिडियाले गहिरो अध्ययन गर्दै यथार्थ कुरालाई बाहिर ल्याउनु मिडियाको भूमिका रहेको बताउँदै आचारसंहिता उल्लङ्घनका कारण कारबाही गर्ने परिस्थिति आउन दिनु नहुने प्रष्ट पारेका थिए ।

आयोगका सह–न्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिनाले निर्वाचनको निष्पक्षता, पारदर्शिता, स्वतन्त्रता, स्वच्छता र कम खर्चिलो तुल्याउन जारी गरिएको निर्वाचन आचारसंहिता पालना गर्ने गराउने काममा सरोकार भएकाहरुलाई प्रेरित गर्न आवश्यक रहेको बताए । आयोगका सहसचिव सुशील कोइरालाले निर्वाचन आचारसंहिता पालनाले निर्वाचनको समयमा दल र उम्मेदवारबीच सहकार्य, समझदारी र हार्दिकता बढाउन विशेष योगदान पुग्ने धारणा व्यक्त गरेका थिए । प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झवीन्द्र भुसालले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा समग्रमा आमसञ्चार माध्यमले सत्यतथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गरेको जानकारी दिएका थिए । स्थानीय तहको निर्वाचनमा आमसञ्चार माध्यमले निर्वाचन र निर्वाचन आयोगसम्बन्धी समाचारलाई सबैभन्दा प्राथमिकता दिएको तथ्याङ्क सहितको विवरण सो अवसरमा प्रस्तुत गरिएको थियो ।