कभर स्टोरी

तेईस बर्षपछि बुद्धि फिरेको भन्दै शेखरले गरे प्र. म को टिप्पणी

By Bala Adhikari

April 05, 2018

काठमाण्डौं, चैत्र २२ । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले काँग्रेस नेतृत्वको सरकारले २३ बर्ष अगाडी गर्न खोजेको काम अहिले एमाले नेतृत्वको सरकारले गर्न लागेको बताएका छन् ।

अरुण तेस्रो जलविद्युत् परियोजनाको सुरुवात तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले २०५१ सालमा गर्न लाग्दा एमालेले नै विरोध गरेकाले रोकिएको काम अहिले एमाले नै सुरु गराउन लागेको कोइरालाको भनाई छ । परियोजनाको सहयोगी संस्था विश्व बैंकलाई एमालेका तत्कालिन महासचिव माधवकुमार नेपाल र बर्तमान अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले परियोजनाको विरोध गर्दै चेतावनीपत्र पठाएपछि परियोजना रोकिएको उनले प्रष्ट पारे ।

त्यही परियोजना प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी गरिएको प्रष्ट भएको छ । अहिले गर्न लागिएको काम तेइस बर्ष अगाडी गर्न दिएको भए धेरै हिसावले देश अगाडी बढ्ने र जनताले विगतका लोडसेडिङ कुनैपनि भोग्न नपर्ने नेता कोईरालाले दावी समेत गरे ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कोइरालाले भने तेईस बर्ष अगाडी अरुण तेस्रो सुरु गर्न पाएको भए १५ बर्ष अगाडी सकिन्थ्यो, तर त्यतिबेला विरोध गर्नेले अहिले उद्घाटन गर्न लाग्नु भएको छ, ढिलै भएपनि बुद्धि फिर्नु सकारात्मक नै हो ।”त्यतिबेला परियोजनाको घोर विरोध गरेका एमाले निकटका वातावरणविद्हरु अहिले कहाँ गए भन्दै पटक पटक उनले प्रश्न समेत गरे । त्यतिबेला विरोध गर्ने एमालेका नेता र वातावरणविद्हरु नै नेपाललाई अहिले सम्म अध्यारोमा राखेको नेता कोईरालाले आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत् परियोजनाको संयुक्त उद्घाटन गर्ने तय भएको छ । प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणका क्रममा चैत २४ गते नयाँदिल्लीको हैदराबाद हाउसमा दुवै प्रधानमन्त्रीले आयोजनाको संयुक्त उद्घाटन गर्ने कार्यक्रम रहेको छ । झण्डै १ खर्ब १६ अर्ब रुपैयाँ लागतमा बन्न लागेको परियोजनाबाट उत्पादित बिजुलीको २१ दशमलव ९ प्रतिशत नेपालले सित्तैमा पाउनेछ भने २५ वर्षपछि नेपाललाई परियोजना हस्तान्तरण गरिनेछ ।