कभर स्टोरी

वामपन्थी सरकारका नीतिले अर्थतन्त्र धरासायी : सभापति देउवा

By Bala Adhikari

April 06, 2018

काठमाडौं, चैत २३ । वर्तमान सरकारले संसद् मार्फत जारी गरेको अर्थतन्त्रसम्बन्धी श्वेतपत्रमा कपोलकल्पित र भ्रामक तथ्य रहेको नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

आज नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले वि.सं २०६२\६३ को गणतान्त्रिक आन्दोलनपछि बनेका सरकारको नेतृत्व बढी समय वामपन्थीबाट भएको उल्लेख गरे । श्वेतपत्रमा काँग्रेसका कारण अर्थतन्त्र धरासायी भयो भन्नु आफैँमा कपोलकल्पित हो, यसमा कुनै सत्यता छैन ।

विगतका वामपन्थी सरकारका नीतिका कारण अर्थतन्त्र धरासायी बनेको हो उनले भने । उनले नेकालाई आगामी पाँचवर्षभित्र पहिलो स्थानमै पुर्याउने प्रतिबद्धता जनाएका छन् । तीन तहका निर्वाचनमा दुई वामपन्थी पार्टी मिलेका कारण उनीहरुले पहिलो स्थान ल्याएका हुन्, यसमा काँग्रेसको कुनै आपत्ति छैन तर देशलाई अधिनायकवादतर्फ उन्मुख गराएमा भने पार्टी चुप लागेर बस्दैन सभापति देउवाले भने ।

लोकतन्त्रको संस्थागत विकास गर्न पार्टीले जोड दिने उल्लेख गर्दै उनले आगामी अधिवेशनमा पार्टीको विधान संशोधन गरी वडा तहदेखि माथिल्लो तहसम्म ट्रेड युनियनको प्रतिनिधित्व गराइने जनाए ।

पार्टी केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसको नेतृत्वमा बनेका सरकारले गरेका विकासका कामलाई जनतासामु लान नसक्दा गत निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको भन्दै पार्टीलाई जीवन्तता दिन नयाँ ढंगले काम गर्नुपर्ने बताए ।

नेपाल ट्रेड युनियन काँग्रेसका सभापति खिलानाथ दाहालले श्रम आयोग गठन गर्न र श्रम विनियमावली ल्याउन माग गरे । उक्त सम्मेलनमा संघका पूर्व अध्यक्षहरु गोपाल पाण्डे, मित्रकुमार राई र शिशिरकुमार झालाई सम्मान गरिएको थियो ।