समाचार

तिनदिने डिजिटल पत्रकारिता तालीम संचालन

By Bala Adhikari

April 08, 2018

पोखरा, चैत २५ । कास्कीको धितालस्थित अक्सफाममा नेपाल पत्रकार महासंघ कास्कीको आयोजना एवं पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा आजदेखि डिजिटल पत्रकारिता तालीम संचालन भएको छ ।

प्रविधिको विकाससँगै सञ्चारमाध्यम र सञ्चारकर्मी पनि त्यही रुपमा अघि बढ्नुपर्ने वास्तविकतालाई दृष्टिगत गरी तीनदिने तालीम आयोजना गरिएको पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताएका छन् । तालीमको शुभारम्भ कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले विश्वव्यापी रुपमा प्रविधिले फड्को मारिसकेको अवस्थामा सञ्चारकर्मीले पनि आफूलाई समय अनुकूल दक्ष बनाउन आवश्यक भएको बताए ।

पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले पत्रकारिता क्षेत्रलाई समयसापेक्ष अघि बढाउन यस किसिमका तालीमले मद्दत पुर्याउने विचार व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्मा, पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष कृष्णप्रसाद बास्तोला, तालीम संयोजक त्रिभुवन पौडेल, तालीम सहाजकर्ता उज्जवल आचार्य, पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेल, महासंघ कास्कीका सचिव रामप्रसाद तिमल्सिनालगायतले तालीमका उपलब्धिलाई सहभागीले व्यवहारमा उतार्ने विश्वास व्यक्त गरे ।

उक्त तालीममा विशेषगरी अनलाइन सञ्चारमाध्यममा क्रियाशील १५ पत्रकारको सहभागीता रहेको छ ।