लहान, चैत २५ । सिरहाको मिर्चैया नगरपालिका क्षेत्रभित्र मापदण्ड विपरीत सडक मिचेर अव्यवस्थित रुपमा बनाइएका घरटहरा तथा पर्खाल भत्काउन थालिएको छ ।
नगरपालिकाले वडा नं ६ मटियर्वास्थित सडक फराकिलो गर्ने क्रममा सडकको दायाँबायाँ रहेका घरटहरा भत्काउन डोजरको प्रयोग गर्दैछ ।
सार्वजनिक सूचना जारी गरिए पनि घरधनीले अटेर गरेपछि डोजर लगाएर भत्काउन थालिएको नगरपालिकाका प्रमुख श्रवण यादवले बताए । नगरपालिकाले डोजर लगाएपछि कतिपय घरधनी आफैँले घर भत्काउन थालेका छन् ।
यसअघि सडकलाई ३६ फिट फराकिलो गर्ने नगरपालिकाले तयारी गरे पनि स्थानीयवासीले विरोध गरेपछि ३२ फिटमा सहमति भई सोही अनुसार काम भइरहेको नगरपालिका–६ का वडाध्यक्ष देवकृष्ण साहको भनाइ छ ।