आर्थिक

नेपाली वनस्पतिको संरक्षण गर्दै उपयोगमा प्राथमिकता दिनुपर्ने

By Bala Adhikari

April 13, 2018

काठमाडौँ, चैत २९ । स्वदेशमा उत्पादित जडीबुटीलाई उपयोग गर्नुपर्ने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् ।

वनस्पति विभागको ५८ औँ वार्षिक उत्सव तथा १९औँ वनस्पति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले नेपाली वनस्पतिको संरक्षण संवद्र्धन गर्दै यसको उपयोगलाई प्राथमिकता दिनुपर्ने जनाएका हुन् । स्वदेशी वनस्पतिबाट धेरै किसिमका औषधि बन्ने र सोही औषधिले स्वास्थ्यलाई फाइदा हुने हुँदा यसको उपयोग बढाउनु आवश्यक रहेको उनको भनाइ छ ।

प्रकृतिले नेपाललाई अथाह वनस्पति दिएको बताउँदै मन्त्री बस्नेतले उक्त वनस्पतिको संरक्षण र उपयोग गर्दै राष्ट्रिय अर्थतन्त्रमा मद्दत पुर्याउने गरी काम गर्नुपर्ने बताएका छन् । वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले वनस्पति क्षेत्रको विकास र विस्तारमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

वनस्पति संरक्षणमुखी मात्र नभएर उपयोगमुखीसमेत हुनुपर्ने उनले बताए । विभागका महानिर्देशक सञ्जीवकुमार राईले वि.सं २०५६ देखि वनस्पति दिवस मनाउँदै आएको बताउँदै यसको उचित संरक्षण र संवद्र्धनमा विभागले महत्वपूर्ण भूमिका निभाउँदै आएको बताए ।

विश्वमा झण्डै चार लाख ५० हजार र नेपालमा १२ हजार वनस्पति रहेको विभागले बताएको छ । कार्यक्रममा वनस्पति क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेका प्राध्यापक डा रामप्रसाद चौधरीलाई राष्ट्रिय वनस्पति पुरस्कार प्रदान गरिएको थियो ।  त्रिभुवन विश्व विद्यालयका प्राडा चौधरीलाई रु एक लाख नगद र दोसल्लाद्वारा सम्मान गरिएको हो ।

मन्त्री बस्नेतले सोही अवसरमा विभागले तयार गरेको पुस्तक ‘इसेन्सियल वेल अफ नेपाल र जर्नल अफ प्लान्ट रिसोर्स’ विमोचन गर्नुका साथै जीवनका लागि वनस्पति लेखिएको लोगो अनावरण गरेका थिए ।