जिल्ला-विशेष

बूढीगंगामा औपचारिक रुपमा जलयात्रा शुरु

By Bala Adhikari

April 15, 2018

अछाम, वैशाख २ । अछामको बूढीगंगा नदीमा औपचारिक रुपमा जलयात्रा संचालन भएको छ । मष्टो आउटडोर कम्पनी काठमाडौँले साँफेदेखि धार्मिक पर्यटकीयस्थल चित्रेको जिमराडीसम्म बूढीगंगा नदीमा जलयात्रा संचालन गरेको हो ।

सो कम्पनीकै आयोजनामा एक वर्षअघि बूढीगंगा नदीको साँफेदेखि चित्रेसम्म परीक्षणको रुपमा जलयात्राको सम्भाव्यता अध्ययन सफल भएकाकाले नयाँ वर्षको अवसर पारी विधिवत् रुपमा जलयात्रा थालिएको कम्पनीका अध्यक्ष रमेश कुँवरले जानकारी दिए ।

देशैभरि विभिन्न नदीमा र्याफ्टिङ सेवा सञ्चालन गरेको कम्पनीले नेपालका चार धाममध्येको एक वैद्यनाथ धाम र प्रसिद्ध धार्मिक पर्यटकीयस्थल जिमराडी क्षेत्रमा जलयात्रा सञ्चालन गरेको हो । साँफेदेखि चित्रेसम्मको करीब १३ किलोमिटर क्षेत्रमा जलयात्रा गराएवापत एकजनाबाट खानाको व्यवस्थासहित रु एक हजार ५०० लिइने र समूहगत भएमा विशेष छुट प्रदान गरिने कम्पनीले बताएको छ ।

अछामको बूढीगंगा र कैलाशमा सजिलै र्याफ्टिङ गराउन सकिने र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिनेसमेत कम्पनीका अध्यक्ष कुँवरको भनाइ छ । वैद्यनाथ धाम र जिमराडीलाई धार्मिक पर्यटनका रुपमा अघि बढाउनका लागि पनि बूढीगंगा नदीमा सञ्चालन हुने र्याफ्टिङ सेवाले निकै सघाउ टेवा पुर्याउने देखिन्छ ।

अब नियमित रुपमा साँफेबगरदेखि जिमराडी चित्रेसम्म र्याफ्टिङ सञ्चालन गरिने र होटेल व्यवसायी तथा स्थानीयवासीको माग अनुसार प्राविधिकसहितका सामग्रीसमेत थप गरिने उक्त कम्पनीले बताएको छ ।

अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन, खप्तड, वैद्यनाथ धाम, चित्रे जिमराडीलगायत क्षेत्रको पर्यटन विकास र प्रवद्र्धनका लागि पनि बूढीगंगा नदीमा सञ्चालन गरिने जलयात्राले महत्वपूर्ण भूमिका निभाउने जनाइएको छ ।