आर्थिक

चालु आवको आठ महिनामा १९४ उद्योग दर्ता

By Bala Adhikari

April 16, 2018

काठमाडौँ, वैशाख ३ । चालू आर्थिक वर्षको आठ महिनामा उद्योग विभागमा विदेशी लगानीका १९४ उद्योग दर्ता भएका छन् ।

विभागले दिएको जानकारी अनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना १८० गरी १९४ उद्योग दर्ता भएका हुन् । विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग गरी विभागले १९४ उद्योग दर्ता गरेको हो ।

स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा साना उद्योग विकास समिति र घरेलु तथा साना उद्योग विभागले दर्ता गर्दै आएका छन् । दर्ता भएका उद्योगहरुमध्ये कृषिजन्य ११, ऊर्जामूलक चार, सूचना, प्रसारण तथा सञ्चार प्रविधि १७, उत्पादनमूलक ३९, खनिज एक, सेवामूलक ६२ र पर्यटन ६० उद्योग छन् ।

रु १० करोडभन्दा सानो लगानीका उद्योगलाई साना उद्योग, रु १० करोडदेखि २५ करोड लगानीसम्मका मझौला र रु २५ करोडभन्दा बढी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आएको विभागले १९४ उद्योगबाट रु ३४ अर्ब ९१ करोड सात लाख बराबरको लगानी भित्र्याएको छ ।

हालसम्म विभागमा झण्डै सात हजार ५०० उद्योग दर्ता भइसकेका छन् । विभागका सूचना अधिकारी दुर्गाप्रसाद भुसालले देशमा तिनै तहको निर्वाचन सम्पन्न भएर स्थिर सरकार बनेकाले औद्योगिक क्षेत्रमा लगानी वृद्धि भएको बताएका छन् ।

अघिल्ला वर्षको तुलनामा यो वर्ष उद्योग क्षेत्रमा लगानी बढेको उनको भनाइ छ ।