प्रिय ! थियौ तिमी जिन्दगीको सार र म हुनुको सार्थकता थिएन कल्पना कुनै तिमी बिनाको संसार ।
यदि थिएनौ तिमी भने – थिएँ म पूर्णरुपले अपूर्ण थियो यात्रा अन्यौल र अनिश्चित यस्तो लाग्थ्यो के थियो र कमी मेरो भाग्यको भण्डारमा ? केवल तिमी भएपछि निस्फिक्री सयर गरिरहँन्थे तिम्रो मनको आकाशमा ढुक्कसँग भरोसा गर्थें समुन्द्र जत्रो तिम्रो विचारमा आनन्दित हुन्थें जूनजस्तो तिम्रो शितलतामा र त चलाएकी थियौ आजसम्म एकल शासन निरन्तर मेरो मुटुको सिंहासनमा बसेर ।
भएभरको संसार जितेर पनि यसरी खै अरू के जित्ने लोभमा चट्टान परे झैँ एकाएक ‘’कसलाई बढी माया गर्छौ ? मलाई कि तिम्री आमालाई ??” लाडिएर सोध्यौ एउटा वेबकुफ प्रश्न र, भयौ सत्ताच्युत अनायास यो हृदयको साम्राज्यबाट ।
(वाक्सेलीको हालै प्रकाशित ‘भस्मासुरको देश’ कविता सङ्ग्रहबाट)