काठमाडौँ, वैशाख ४ । लैंगिक समानता तथा महिला सशक्तीकरण सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युएन वुमनको कार्यकारी बोर्डको सदस्यमा नेपाल निर्वाचित भएको छ ।
नेपाल आगामी सन् २०१९–२०२१ का लागि सो पदमा निर्वाचित भएको राष्ट्र संघका लागि स्थायी नेपाली नियोगले बताएको छ । सो संस्था स्थापना भएयता पहिलो पटक नेपाल बोर्ड सदस्यमा छनोट भएको हो ।
नेपालसहित बंगलादेश, भारत, मंगोलिया र साउदी अरेबिया पनि एशिया–प्रशान्त क्षेत्रबाट छानिएका छन् । यसैगरी आगामी तीन वर्षका लागि विकासका लागि विज्ञान तथा प्रविधि आयोगका सदस्यमा पनि नेपाल छनोट भएको छ ।
सो आयोगमा एशिया–प्रशान्त क्षेत्रबाट नेपालसहित चीन, थाइल्याण्ड र इरान निर्वाचित भएका छन् ।
उक्त पदका लागि गोप्य मतदान भएको ५४ सदस्यीय राष्ट्रसंघीय आर्थिक सामाजिक परिषद्मा नेपालले ५२ मत प्राप्त गरेको उक्त नियोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा बताइएको छ ।