आर्थिक

यस वर्षको ‘आध्यात्मिक सेवा पुरस्कार’ बाल शान्ति गृहलाई

By Bala Adhikari

April 18, 2018

काठमाडौँ, वैशाख ५ । यस वर्षको ‘आध्यात्मिक सेवा पुरस्कार’ रुपकुमारी अध्यात्म सेवा अनुष्ठानले बाल शान्तिगृहलाई दिने भएको छ ।

सो संस्थाले गरिब असहाय बालबालिकालाई प्राविधिक शिक्षा दिई योग्य नागरिक बनाउन योगदान गरेबापत उक्त पुरस्कार प्रदान गर्न लागेको हो ।

अनुष्ठानका अध्यक्ष भीमबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले आध्यात्मिक क्षेत्रमा विशिष्ट योगदान गर्ने चेतनाथ आचार्यलाई ‘रुपकुमारी अध्यात्म सेवा सम्मान’ प्रदान गर्ने निर्णय गरेको संस्थाले बताएको छ ।

आचार्यले विगत पाँच दशकदेखि विभिन्न धार्मिक क्रियाकलापमा संलग्न भई महत्वपूर्ण कृतिलेखन गरेकाले उक्त सम्मान गर्ने भएको छ । पुरस्कार तथा सम्मान दुवै रु ३५÷ ३५ हजार नगदसहित सम्मानपत्र रहेको छ ।

यसैगरी, बाल्मिकी रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरेकी विजयश्री गौतमलाई अभिनन्दन गरिने संस्थाकी उपाध्यक्ष रमा शर्माले बताइन् ।

उक्त पुरस्कारबाट यही वैशाख १४ गते सम्मान तथा अभिनन्दन गरिने कार्यक्रम रहेको छ ।