आर्थिक

जिम्मेवारी बाँडफाँट नहुँदा काममा समस्या : खानेपानीमन्त्री मगर

By Bala Adhikari

April 22, 2018

चितवन, वैशाख ९ । स्वच्छ खानेपानीको पहुँचका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम अगाडि बढाइने खानेपानीमन्त्री बिना मगरले बताएकी छिन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अनुगमन गरेपश्चात राष्ट्रिय गौरवका योजना कम हुनाले समस्या आएको उनले बताइन् । तराईका २२ जिल्लामा पानीको समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउन आवश्यक भएको भन्दै अहिले केन्द्रीय सरकार र प्रदेश सरकारबीच जिम्मेवारी बाँडफाँट नहुँदा काममा समस्या आउने गरेको उनको भनाइ छ ।

नारायणी नदीको पानी व्यवस्थापन गरेर स्वच्छ पिउने पानीको व्यवस्थापन गर्ने तयारी भइरहेको जनाउँदै मन्त्री मगरले अहिले हरेक जिल्लामा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अनुगमन गर्ने क्रममा रहेको र अनुगमनपछि कार्ययोजना बनाएर अघि बढ्ने जनाएकी छिन् ।

चितवनमा पनि केही वर्षपछि पानीको समस्या हुने भएकाले यसका लागि कर्मचारीहरुलाई दीर्घकालीन योजना बनाउन र फोहर प्रशोधन गर्दै समाजलाई सफा राख्नका लागि पहल गर्न पनि उनले कर्मचारीलाई निर्देशन दिएकी छिन् ।

मन्त्री मगरले आजै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कञ्चनपुर जिल्लाबाट उपचार गराउन आएका १४ बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।