काठमाडौं, ४ असार । पोखरास्थित राष्ट्रिय समाचार समितिको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले निरीक्षण गरेका छन् ।
उक्त अवसरमा उनले कार्यालयबाट प्रवाह भइरहेका सेवा लगायतका विषयमा जानकारी लिएका थिए । पोखरामा राससको कार्यालय भवन निर्माणका लागि सरकारको तर्फबाट प्रारम्भिक रुपमा बजेट विनियोजन भइसकेको जानकारी दिँदै सचिव गुरुङले जति सक्दो चाँडो भवन निर्माणको काम सक्न लागिपर्नु पर्ने कुरामा जोड दिए ।
मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले पनि सो कार्यालयको निरीक्षण गरे । उनीहरुले आजै पोखरास्थित रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रको पनि निरीक्षण गर्दै त्यहाँबाट भइरहेका गतिविधिबारे जानकारी लिए ।