कभर स्टोरी

प्रधानमन्त्री देउवा बालुवाटार स्थान्तरण

By Bala Adhikari

June 19, 2017

काठमाडौँ, ५ असार । सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा सर्नुभएको छ । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आउनुभएका देउवा आज बिहान बालुवाटार सर्नुभएको पारिवारिक स्रोतले जानकारी गराएको छ ।

प्रधानमन्त्री देउवालाई सरकारी निवास सर्न ज्योतिषीले आज बिहान ५ः२२ बजेको उत्तम साइत जुराइ दिएपछि सोहीअनुसार नै बिहानै पूजापाठ गरी सर्नुभएको हो । जेठ २४ गते प्रधानमन्त्री पदको शपथ पनि ज्योतिषीले जुराइ दिएको साइतको समयमा नै लिनुभएको थियो । बिहान सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कर्मचारीले स्वागत गर्नुका साथै भवनको साँचो हस्तान्तरण गरेका थिए भने सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

प्रधानमन्त्री देउवाको शपथ समारोहकै दिनदेखि तत्कालीन प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवास सर्नुभएपछि बालुवाटारको सरकारी निवास खाली थियो । यस अवधिमा सहरी विकास तथा भवन निर्माण विभागले उक्त सरकारी निवासको मर्मत सम्भार एवम् रङरोगन गरेको थियो ।