कभर स्टोरी

महानगरभित्रका सबै विद्यालयहरुमा शैक्षिक सामग्री उपलब्ध गराउने

By Bala Adhikari

April 24, 2018

काठमाडौँ, वैशाख ११ । मुलुकमा प्रजातन्त्र स्थापना भएलगत्तै कालीमाटीमा स्थापित भएको सामुदायिक विद्यालय जनप्रभात माविले आज ६८ आंैँ वार्षिक उत्सवका अवसरमा आजदेखि सूचना प्रविधिसम्बन्धी कक्ष सञ्चालन गरेको छ ।

करीब रु १० लाखको लागतमा निर्मित कक्षको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे । सरकारले सामुदायिक विद्यालयमा सञ्चालन गरेको भर्ना अभियानलाई सहयोग गर्ने उद्देश्यले महानगरभित्रका सबै सामुदायिक विद्यालयमा आवश्यकता अनुसार शैक्षिक सामग्री उपलब्ध गराइने महानगरपालिकाका प्रमुख शाक्यले प्रतिबद्धता जनाएका छन् ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष रामशरण डङ्गोलले वि.सं २००८ मा स्थापित उक्त विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा पठनपाठन हुँदै आएको बताउँदै यस वर्ष १५० नयाँ विद्यार्थी भर्ना गरिएको र कक्षा १ देखि १२ सम्म करीब ६०० विद्यार्थी अध्ययनरत रहेको जानकारी गराए ।

प्रधानाध्यापक सतेन्द्रलाल कर्णले विद्यालयमा व्यावसायिक शिक्षा सञ्चालन गर्न विभिन्न दातृ संघसंस्थासँग पहल भइरहेको जनाएका छन् ।

कामपा–१३ का वडा सदस्य रामबाबु कोइराला, शिक्षिका सम्झना ढकाल र पूर्वविद्यार्थी कृष्णराज गौतमले उत्पादनसँग शिक्षालाई जोड्ने नीति नभएका कारण देश विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन हुन नसकेको भन्दै सामुदायिक विद्यालयमा समयसापेक्ष पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

उक्त अवसरमा कक्षा १० की छात्रा करिश्मा बस्नेतलाई रु ११ हजार पुरस्कारसहित उत्कृष्ट छात्रा पुरस्कार दिइएको थियो ।