आर्थिक

कामपामा आधुनिक शौचालय निर्माणको काम अगाडि बढ्न सकेन

By Bala Adhikari

April 26, 2018

काठमाडौँ, वैशाख १३ । काठमाडौँ महानगरपालिकाले लामो समयदेखि निर्माण गर्ने भनेको आधुनिक शौचालयको काम अझै अगाडि बढ्न सकेको छ्रैन ।

पाँचवटा निर्माण कम्पनीले निर्माणका लागि लागत खर्चसहित योजना पेश गरेपनि कामपाले भने अनुसारको डिजाइन नआएकाले काम थाल्न नसकेको कामपा सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख महेश काफ्लेले बताए ।

शौचालय निर्माणका लागि करीव रु १७ लाखसम्मको लगानी गर्ने कामपाको योजना छ, आएका जति पनि डिजाइनहरु कामपाको योजनाभन्दा बढी मूल्यको रहेकाले काम अघि बढ्न नसकेको हो उनले भने । महानगरलाई निर्माणका लागि सानो स्थान, कम पानी प्रयोग र दैनिक प्रयोग कर्ताको रेकर्ड राख्ने किसिमको निर्माण गर्नुपर्नेछ ।

आएका सबै प्रस्तावहरु रु ३० लाख देखि ४० लाखसम्म लागतका, निर्माणका लागि धेरै स्थान लिने र सुविधा पनि कम भएका छन् ।

विभिन्न कामकाजका लागि सडकमा आवतजावत गर्ने नागरिकलाई सेवा दिन भन्दै कामपाले करीव सात महिना अघिनै कामपाका विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने जनाएको थियो ।