कभर स्टोरी

विद्यालयलाई शुल्क वृद्धि नगर्न शिक्षाको निर्देशन

By Bala Adhikari

April 27, 2018

भक्तपुर, वैशाख १४ । सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयलाई निर्देशन दिएका छन् ।

विद्यालयले मनोमानी रुपमा शुल्क असुलेको गुनासो बढेको जनाउँदै उनले बढी शुल्क नअसुल्न विद्यालयलाई निर्देशन दिएका हुन् । मन्त्री पोरखेलले विद्यालय शुल्क तत्काल अनुगमन गरेर शुल्क नियन्त्रण गर्न स्थानीय तहलाई अनुरोध गरेका छन् ।

मन्त्रालयले स्थानीय तहलाई तत्काल शुल्क वृद्धि नियन्त्रण गर्न आग्रह गरिसकेको भन्दै मन्त्री पोखरेलले भने मनोमानी ढंगले विद्यालयले शुल्क वृद्धि गरेको गुनासो आएको छ, यसलाई तत्काल नियन्त्रण गर्नु जरुरी छ, स्थानीय तहलाई तत्काल शुल्क अनुगमन गरेर शुल्क वृद्धि नियन्त्रण गर्न म आग्रह गर्दछु ।

शुल्क वृद्धि नियन्त्रण नगर्ने विद्यालयलाई कारबाही गर्न सरकार कटिबद्ध रहेको उनको भनाइ छ । मन्त्री पोखरेलले विद्यार्थीलाई लामबद्ध नराख्न विद्यालयलाई निर्देशन दिए ।

स्कुलमा होस् वा गाउँमा विशिष्ट व्यक्ति आउँदा स्वागत गर्न विद्यार्थीलाई लामबद्ध राख्ने परम्परा बढ्दै गयो, यो गलत छ, म सबै विद्यालयलाई निर्देशन दिन्छु, अबदेखि विद्यालयलाई स्वागतमा लामबद्ध नराख्नुहोस् उनले भने ।