आर्थिक

मनाङ जिल्लाको चामेमा सिटिजन्स बैंकको ५९ औं शाखा आरम्भ

By Bala Adhikari

June 19, 2017

आषाढ ०५, चामे, मनाङ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आजबाट मनाङ जिल्लाको चामेमा आफ्नो ५९औं शाखा संचालनमा ल्याएको बैकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले विज्ञप्ती जारी गरी उद्घाटन गरिएको जानकारी गराएका छन् । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेलले पुजापाठ गरि शाखाको आरम्भ गरेको उक्त विज्ञप्तीमा जनाएको छ ।

देशको १४ अञ्चलमा फैलिएका सिटिजन्स बैंकको काठमाडौं उपत्यका भित्र २४ र बाहिर ३५ गरी कुल ५९ वटा शाखा, ५८ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट ४ लाख १७ हजारभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको सिटिजन्स बैकले बताएको छ ।

बैंकले आफ्ना ग्राहकवर्गलाई रेमिट्यान्स सेवा, ड्राफट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु दिदंै आइ रहेको र ती सबै सेवाहरु उक्त शाखाबाट पनि उपलब्ध गराउने जानकारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री पोखरेलले जानकारी गराएका छन् । मनाङ तथा यस क्षेत्रको वरपरका जनता र व्यवसायीलाई अन्तर्राष्ट्रिय गुणस्तरको बैंकिङ्ग सेवा दिने उद्देश्य लिएको यस बैंकको चामे शाखाबाट समेत ग्राहकहरुले आधुनिक बैकिङ्ग सेवा प्राप्त गर्न सक्ने पोखरेलले जानकारी गराए ।

बैंकले आफ्नो शाखा सुरुवात गरेको उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मनाङ जिल्ला चामे स्थित श्री लोकत्रिय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको पोखरेलले बताए । बैंकले निकट भविष्यमा पाल्पा जिल्लाको छहरा, मकवानपुर जिल्लाको मनोहरी तथा नवलपरासी जिल्लाको भुमईबाट आफ्नो शाखा सञ्चालनमा ल्याउने बताएको छ ।