कभर स्टोरी

विद्यार्थी भर्ना अभियानले शिक्षा क्षेत्रमा सहभागीता बढ्दाे

By Bala Adhikari

April 29, 2018

महोत्तरी, वैशाख १६ । पछिल्लो समय थालिएको विद्यार्थी भर्ना अभियानले शिक्षा क्षेत्रमा प्रभाव बढेको छ ।

योे अभियानले गर्दा शिक्षाबाट वञ्चित महोत्तरीका दलित समुदायका बालबालिका विद्यालयसम्म पुग्न सक्षम भएका छन् । जिल्लाको गौशाला नगरपालिका–९ मुसलमान बस्तीका विद्यालय जाने उमेर समूहका बालबालिका अहिले नियमित रुपमा दुई किमीको दूरीमा रहेका नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा नियमित रुपमा अध्ययनरत छन् ।

विद्यालयले विद्यार्थी भर्ना अभियानको क्रममा शिक्षक शिक्षिकालाई घरघरमै गएर बालबालिकालाई पढ्नका लागि उत्प्रेरणा जगाएपछि बालबालिका विद्यालयसम्म आउन सफल भएका हुन् । स–साना बालबालिका एकाबिहानै आँखा मिच्दै दुई किमीको पैदलयात्रा तय गरी पढ्नका लागि जाँदै गरेको स्थानीय सूर्यदेव महतोको भनाइ छ ।

पहिले पहिले बस्तीका बालबालिका अरुको खेतमा गएर आमाबाबुसँग काम गर्न जान्थे तर अहिले उक्त बस्तीका बालबालिका एकाबिहानै झोलामा कापी कलम लिएर विद्यालय जाँदै गरेको महतोले बताए । यता विद्यालय भर्ना अभियानलाई सफल पार्नका लागि सो बस्ती पुगेकी हाम्रा सहकर्मी सुनिता महतोको अनुसार सर्वप्रथम टोलीलाई हेर्ने बित्तिकै बस्तीका बालबालिका घरमा गएर लुकेर बसेका थिए ।

पछि टोलीले अभिभावकसँग कुराकानी गर्दा उनीहरु बाहिर निस्केर पढ्नका लागि सहमत भएका महतोले बताइन् । अभियानको भोलिपल्ट उक्त बस्तीका १० जना बालबालिका नजिकै रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय कालिपुरमा भर्ना भएको विद्यालयका प्रधानाध्यापक देवनारायण महतोले जानकारी गराए ।

प्रधानाध्यापक महतोले सो समुदायका बालबालिकालाई तत्कालको लागि कापी, कलम वितरण गरेको र केहीदिनमै नयाँ किताब पनि दिइने तयारी भइरहेको जनाएका छन् ।