जिल्ला-विशेष

अलैँची सिचाइका कारण ह्यात्रुङ झरनामा पानी सुक्यो

By Bala Adhikari

April 29, 2018

तेह्रथुम, वैशाख १६ । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका वडा नं ४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको अवस्था छ । झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका लागि लगिएपछि झरना पानीविहीन बनेको छ । झरना हेर्न र रमाउनका लागि पुगेकाहरु अहिले निराश भएर फर्कने गरेका छन् । ह्यातुङ पनि भनिने तीनसय ६५ मिटर अग्लो उक्त झरनाको अस्तित्व खतरामा परेको विषयमा विभिन्न समयमा चर्चा हुने गरेपनि झरनाको संरक्षणमा सम्बन्धित निकायको ध्यान पुगेको छैन ।

यसरी वर्षौनी नेपाल को जलस्रोत सुक्न थाल्यो भने देशको सौन्दर्यता कता जाला ? जलस्रोतको दोस्रो धनी देश मानिने नेपालको यो हालत दिनानु दिन बढ्दै गइरहेको छ । हिउँद परेपछि वर्षेनी पानी सुकेपछि झरनाको अस्तित्व नै संकटमा पर्दै गइरहेको छ ।

हिउँद लागेपछि झरनामा पानी सुकेको फेदाप गाउँपालिका–४ का वडाध्यक्ष नवीन चोङ्वाङले बताएका छन् । झरना आसपासमा रहेको अलैँची बगानमा सिँचाइका लागि स्थानीयवासीले पानी लगेपछि झरना पानीविहीन बनेको र झरनामा पानी ल्याएर लगाउने विषयमा छलफल भइरहेको वडाध्यक्ष चोङ्वाङले जानकारी गराएका छन् ।

झरना पूर्णरुपमा सुकिहाल्ने अवस्था त हैन, तर आसपासमा सिँचाइका लागि पानी लगिएपछि अहिले झरनामा पानी खसेको भने छैन वडाध्यक्ष चोङ्वाङले बताए । दक्षिण एशियाकै आकर्षक र अग्लो यो झरनामा आवश्यक पूर्वाधार विकास र प्रचारप्रसारमा लगानी गर्न राज्यले उदासीनता देखाउँदा अस्तित्व नै मेटिने खतरा बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।