भक्तपुर, वैशाख १७ । वडाका ज्येष्ठ नागरिक र एकल महिलालाई मध्यपुरथिमि नगरपालिका–१ ले सम्मान गरेको छ ।
स्थानीय दिव्यश्वरी मन्दिरको प्राङ्गणमा वडाले आज विशेष कार्यक्रमको आयोजना गरी करीब ३०० जना ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरेको हो ।
वडाले ज्येष्ठ नागरिक र एकल महिलालाई एक–एक थान कम्बल र पौष्टिक आहार प्रदान गर्दै सम्मान गरेको हो । उक्त अवसरमा आयुर्वेदिक औषधालय, समित अस्पताल र स्थानीय हेल्थपोष्टको सहयोगमा ज्येष्ठ नागरिक र एकल महिलाको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको थियो ।
स्वास्थ्य परीक्षणका क्रममा आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको वडाध्यक्ष सुरज खड्काले बताएका छन् ।
शिविरमा सहभागीको रक्तचाप, मधुमेह र सामान्य स्वास्थ्य परीक्षण गरिएको स्थानीय हेल्थपोष्टका प्रमुख उमेश धौभडेलले जनाए ।