कभर स्टोरी

नागरिकसँगै सहकार्य गरेर अगाडि बढ्ने : प्रमुख शाक्य

By Bala Adhikari

April 30, 2018

काठमाडौँ, वैशाख १७ । काठमाडौं महानगरपालिकाको समृद्धिका लागि नागरिकसँगै सहकार्य गरेर अगाडि बढ्ने महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

कामपाको वडा नं १४ द्वारा आज आयोजित नागरिक सुनुवाइ कार्यक्रममा बोल्दै उनले समृद्धिका लागि नागरिकको सक्रियता जरुरत पर्ने बताएका छन् । नगरको विकास नागरिकका लागि हो त्यसैले कामपाको सबै विकासमा नागरिक सहभागी हुन आवश्यक छ प्रमुख शाक्यले भने ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले नगरवासीको अपेक्षा एकीकृत विकास रहेकाले त्यसै अनुसार विकासको काम गरिने बताइन् । वडा नं १४ का वडाध्यक्ष शोभा सापकोटाले वडामा भएका २२ वटाभन्दा बढी टोल विकास समूहसँगको सहकार्यमा बाटोमा ब्लक छाप्ने, ढुङ्गा बिछ्याउने, मंगल निर्माण गर्ने, इनार सफा गर्ने, आरसिसी ढलान गर्ने, सडक पिच गर्ने काम सम्पन्न गरिएको बताए ।

कलंकी चोकको व्यवस्थापन, बजार र उद्योगधन्दाको तथ्याङ्क संकलन, पार्किङस्थलको पहिचान र व्यवस्थापन, बल्खु खोला करिडोर निर्माण, सार्वजनिक शौचालय निर्माणजस्ता काम तत्कालको योजनामा रहेको सापकोटाको भनाइ छ ।

भूकम्पीय क्षति न्यूनीकरणका लागि सचेतना अभियान, दुव्र्यसन न्यूनीकरण तथा सुधार केन्द्रको स्थापना, खाद्य वस्तुको गुणस्तर मापन, पाटीपौवाको संरक्षणजस्ता काम पनि वडाले गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले माग राखेका थिए ।