समाचार

लाइसेन्स परीक्षा र परीक्षण चुनावपछि

By Bala Adhikari

June 19, 2017

काठमाडौँ, ५ असार । वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा लिने र परीक्षण गर्ने (ट्रायल) लिने काम दोश्रो चरणको स्थानीय निर्वाचनको मितिसम्मलाई बन्द भएको छ । कार्यालयका कर्मचारी र सुरक्षाकर्मी दोस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा खटिएकाले दुवै काम बन्द भएको यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेले बताएका छन् ।

कर्मचारी र सुरक्षाकर्मी निर्वाचनबाट फर्केपछि मात्र कार्यालयबाट लाइसेन्सको काम पुनः सञ्चालन हुने उनले बताए । वाग्मती अञ्चल कार्यालय एकान्तकुनाबाट हुँदै आएको विदेशबाट लिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)लाई नेपालीकरण गर्ने काम पनि उपत्यकाका अन्य तीन कार्यालयमा हस्तान्तरण गरिएको बताइएको छ । लाइसेन्सलाई नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालय स्वयम्भूस्थित ठुलोभर्याङ, सुकेधारा र जगाती कार्यालयलाई जिम्मेवारी दिइएको प्रवक्ता डा पाण्डेले बताएका छन् ।

अहिले एकान्तकुना बाहेक स्वयम्भूस्थित ठुलोभर्याङ, सुकेधारा र जगातीबाट लाइसेन्सको परीक्षा लिदै आएको छ । हाललाई सबै स्थानमा दोश्रो चरणको स्थानीय निर्वाचनको कार्यलाई ख्याल गर्दै कर्मचारी सबै बाहिर गएको बताउँदै यातायात कार्यालयले सबै कामलाई ठप्प बनाएको छ ।