कभर स्टोरी

अध्यक्ष प्रचण्ड र इजरायली राजदूतबीच शिष्टाचार भेटवार्ता

By Bala Adhikari

May 01, 2018

काठमाडौँ, वैशाख १८ । इजरायलका राजदूत बेन्नी ओमर र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शिष्टाचार भेटवार्ता भएको छ ।

अध्यक्ष निवास खुमलटारमा आज भएको भेटमा अध्यक्ष प्रचण्डले इजरायलले कृषि क्षेत्रमा गरेको प्रगति नेपालको आर्थिक समृद्धिका लागि अनुकरणीय कार्य भएको बताए । नेपालको आर्थिक समृद्धि कृषिमा आधारित उद्योगको विकासबाट मात्र सम्भव छ र त्यसमा इजरायलको प्रविधि हाम्रा लागि धेरै महत्वपूर्ण हुन्छ उनले भने ।

अध्यक्ष प्रचण्डले कृषिमा आधारित उद्योगका लागि आफूहरु इजरायलसँग प्राविधिक सहकार्य गर्न इच्छुक रहेको बताएका छन् । उनले भने– इजरायलको कृषि क्षेत्रको प्रगति हाम्रा लागि प्रेरणा स्रोत हो ।

इजरायलका राजदूत ओमरले आफूहरु नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्न तयार रहेको बताएका छन् । मौरीपालन, फलफूल र तरकारी उत्पादन हाम्रा मुख्य प्राथमिकताका विषय हुन्, यो क्षेत्रमा हामी नेपाली किसानसँग सहकार्य गर्न इच्छुक छौँ उनले भने ।

‘सिकाैँ र कमाऔँ’ भन्ने नीति आफूहरुको रहेको बताउँदै राजदूत ओमरले नेपालमा व्यावसायिक तालीम केन्द्र खोल्न इच्छुक रहेको पनि बताए ।