कभर स्टोरी

महिला हिंसा विरुद्ध ‘म एक जिम्मेवार पुरुष’ अभियान शुरु

By Bala Adhikari

May 06, 2018

चितवन, वैशाख २३ । चितवनको पदमपुरमा मानव बेचबिखन तथा लैंगिक हिंसा विरुद्धका घटना न्यूनिकरण गर्नका लागि पुरुषलाई नै जिम्मेवार बनाउने गरी अभियान थालिएको छ ।

पुरुषलाई बेचबिखन र हिंसाविरुद्ध अभियानमा सहभागी गराउन सके घटना रोकिने भन्दै चितवनको कालिका नगरपालिकामा मानव बेचबिखन तथा लैंगिक हिंसाविरुद्ध ‘म एक जिम्मेवार पुरुष’ अभियान अगाडि बढाइएको हो ।

मानव बेचबिखन तथा लैंगिक हिंसा विरुद्धको कार्यक्रम अन्तर्गत पदमपुरको चेतना चेली बहुउद्देश्यीय सहकारी संस्था र कालिका पुरुष रक्षक समूहद्वारा शनिबार पदमपुरमा आयोजित कार्यक्रममा बोल्दै सहभागीले हिंसा र बेचबिखन रोक्नका लागि अगाडि बढाइएको अभियानमा ऐक्यबद्धता जनाएका छन् ।

कार्यक्रममा प्रदेश नं ३ का सदस्य घनश्याम दाहालले महिलालाई मनोरञ्जनको साधनका रुपमा मात्रै हेर्ने गरेको भन्दै पुरुष सुध्रिनुपर्नेमा जोड दिए । मानव बेचबिखन र हिंसाविरुद्ध काम गर्दै आएको संस्था केआई नेपाल, चेली नेपाल तथा कालिका नगरपालिका, इलाका प्रहरी कार्यालय रत्ननगर, नेपाल शिक्षक महासंघ कालिका समिति र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा उक्त कार्यक्रम भएको थियो ।

केआई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले हिंसाविरुद्ध पुरुष जिम्मेवार हुनुपर्छ भनेर यस्तो अभियान शुरु गरिएको भन्दै सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याए । बालिका हुने बित्तिकै भ्रुण हत्या गरेर हिंसाको थालनी हुने गरेको तीतो यथार्थ व्यक्त गर्दै भट्टराईले महिला र बालिका जोगाउनुपर्नेमा विेशेष जोड दिए ।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले कालिका नगरपालिकाको पदमपुर क्षेत्रमा पनि हिंसाका घटना घट्ने गरेको स्मरण गर्दै यस्तो खालको अभियानले हिंसाका घटना रोक्नका लागि निकै मद्दत पुर्याउने बताए । महिला अधिकारकर्मी संगीता भट्टराईले म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसा भए प्रतिकार गर्छु भनेर सबैले प्रतिबद्धता जनाउनुपर्ने बताइन् ।

कार्यक्रममा विभिन्न स्कूलका विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । सोही क्रममा स्थानीयवासीले हिंसा र बेचबिखनविरुद्ध चेतनामूलक नाटक तथा गीत प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा हिंसाविरुद्ध अभियान चाल्दै आएका अमेरिकाका १३ जना अभियन्ताले समेत सहभागिता जनाएका थिए ।