कभर स्टोरी

शान्तिपूर्ण ढंगबाट राजनीतिक गतिविधि संचालन गर्न आयोगको अनुरोध

By Bala Adhikari

June 19, 2017

काठमाडौँ, असार ५ । सामाजिक सद्भाव राखी शान्तिपूर्ण तरिकाबाट राजनीतिक गतिविधि सञ्चालन गर्नका लागि निर्वाचन आयोगले सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई अनुरोध गरेको छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको प्रचारप्रसार गर्ने क्रममा बाजुरा लगायत जिल्लामा राजनीतिक दलका उम्मेदवार र कार्यकर्ताबीच झपड भई दुःखद् घटना भएपछि आयोगले निर्वाचनसँग सम्बन्धित गतिविधि सञ्चालन गर्दा सतर्कता अपनाउन आग्रह गरेको हो । यही असार १४ गते हुने निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्न, असर पार्नेखालका कुनै किसिमका घटना हुन नदिनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन पनि आयोगले सरकारसँग अनुरोध गरेको छ ।

आयोगले दोस्रो चरणको स्थानीय निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा बाजुरा, छेडेदह – ५ डोगडीका हंसबहादुर राउतको मृत्यु भएको घटनाप्रति खेद प्रकट गरेको छ । राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा गम्भीर घाइते भएकामा उपचारार्थ बाजुराको मार्तडीतर्फ लैजाने क्रममा उनको निधन भएको थियो । आज बसेको आयोगको बैठकले राउतप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुका साथ शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घाइते हुनेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । यसैगरी उम्मेदवारी दर्ताकै क्रममा आइतबार कपिलवस्तु, बाडगङ्गा – ४ भित्री हुलाकी सडकखण्डमा बम विस्फोटमा परी १० व्यक्ति घाइते भएको घटनाप्रति पनि आयोगले दुःख व्यक्त गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।