कभर स्टोरी

सभामुख महरा र बेलायती सांसदहरु बिच भेटवार्ता सम्पन्न

By Bala Adhikari

May 09, 2018

काठमाडौँ, वैशाख २६ । बेलायतका सांसदहरुको टोलीले सभामुख कृष्णबहादुर महरासँग शिष्टाचार भेटवार्ता गरेका छन् । ब्रिटिस ग्रुप अफ इन्टर पार्लियामेन्ट्री युनियन (बिजिआइपियू)का सदस्य तथा बेलायती सांसद नाइजेल इभान्स नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार सभामुख महरासँग भेटवार्ता गरेका हुन् ।

त्यस अवसरमा सभामुख महराले नेपाल र बेलायतबीचको सम्बन्ध राजनीतिक मात्र नभई जनस्तरसम्मको भएको जानकारी गराएका थिए । नेपाल र बेलायतको सम्बन्ध राजनीतिक स्तरमा मात्रै सीमित नरहेको, जनस्तरमा समेत रहेको प्रष्ट पार्दै उनले भने जनता–जनता बीचको सम्बन्धले दुई देशको मित्रतालाई झनै गाढा र नजिकको बनाइदिएको छ । नयाँ संविधान निर्माणसँगै नेपालमा संघीय शासन प्रणालीको शुरु भएको प्रष्ट पार्दै सभामुख महराले बेलायती संसदीय प्रक्रिया, अभ्यास र अनुभव नेपालका लागि शिक्षा हुने जानकारी गराए ।

नेपालमा अहिले संघीयताको अभ्यास भइरहेको र हाल स्थानीय, प्रदेश र संघ गरी तीन तहका सरकार सञ्चालन भइरहेको प्रष्ट पार्दै उनले भने, बेलायत र नेपालको संसदीय प्रक्रिया उस्तै उस्तै भएकाले एक अर्काको अनुभव आदान प्रदानका साथै हामी बेलायतबाट सिक्न चाहन्छौँ । बेलायतले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक निर्माण लगायतका क्षेत्रमा लगानी गरिरहेको भन्दै सभामुख महराले यसले दुई देश र जनतासम्मको सम्बन्धलाई बलियो र नजिक बनाएको जानकारी समेत गराए ।

प्रतिनिधिमण्डलका नेता इभान्सले दुई देशको सम्बन्ध निकै समधुर र प्रगाढ रहेको प्रष्ट पारे । नेपाल पर्यटनका हिसाबले निकै सुन्दर देश भएको बताउँदै उनले भने हरेक वर्ष थुप्रै बेलायती नागरिकहरु नेपाल भ्रमण गर्न आउने गरेका छन् । भेटवार्तामा उपसभामुख शिवमाया तुम्वाहाम्फे, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, प्रवक्ता भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।