कभर स्टोरी

मोदीको भ्रमणका लागि सुरक्षा व्यवस्था चुस्त

By Bala Adhikari

May 11, 2018

काठमाडौँ, वैशाख २८ । दुई दिने नेपाल भ्रमणका लागि नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि कार्यक्रम हुने स्थलहरुमा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।

विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि, २०७० अनुसार अति विशिष्ट पाहुनाको सुरक्षा व्यवस्थापनका लागि चारवटै सुरक्षा निकायलाई एकीकृत रुपमा परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जनाएका छन् । सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा योजना बनाइएको र सोही अनुसार सुरक्षा फौज खटाइएको छ ।

ती जिल्लामा सुरक्षाकर्मी अपुग भएमा केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मी तत्कालै पठाइने व्यवस्था मिलाइएको पनि प्रवक्ता सुवेदीले जानकारी गराए । नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पर्याप्त मात्रामा खटाएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीको भनाइ छ ।

उनको भ्रमण हुने स्थलहरुमा आवश्यक ट्राफिक व्यवस्थापन भइरहेको छ । सकेसम्म छोटो मार्गबाट उनको यात्रा हुने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका नायब प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जनाएका छन । भारतीय प्रधानमन्त्री मोदी सवार हुने मार्गमा १० मिनेटअघि मात्र सडक खाली गरिनेछ । अत्यावश्यक सवारीसाधन र एम्बुलेन्सहरुलाई भने जुनसकै समयमा आवागमन गर्न दिइनेछ ।

काठमाडौँमा आज बिहानैदेखि सडकमा सवारी आवागमन पातलो देखिएको छ । मुख्य स्थानहरुमा सरसफाइका साथै विभिन्न तुल, ब्यानर सजाइएको छ भने चोकचोकमा नेपाल भारतका झण्डाहरु फहराइएका छन् ।

धनुषाको जनकपुरका कार्यक्रमपछि भारतीय प्रधानमन्त्री मोदी काठमाडौँ आई उच्चस्तरीय भेटघाटमा व्यस्त रहनेछन् भने शनिबार मुक्तिनाथको दर्शनका लागि जाने कार्यक्रम रहेको छ ।