जिल्ला-विशेष

म्याग्दीका ६ स्थानमा झोलुङ्गे पुल निर्माण गर्न सिफारिस

By Bala Adhikari

May 11, 2018

म्याग्दी, वैशाख २८ । लामो झोलुङ्गे पुल निर्माण गर्न पहाडी जिल्ला म्याग्दीका विभिन्न ६ ठाउँको लागि सिफारिस गरिएको छ ।

जिल्ला समन्वय समितिको बैठकले भौगोलिक रुपमा विकटता रहेका गाउँबस्तीलाई जोड्नका लागि लामो झोलुङ्गे पुल निर्माण गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको लामो पुल हेर्ने विभागमा सिफारिस गरेको हो ।

अन्नपूर्ण गाउँपालिकाको राम्चे–नागी, तल्लो शिख–किन्दु, रघुगंगा गाउँपालिकाको चिमखोलाको सिस्नेरी–रायखोर, दरमिजा–पाखापानी, मौवाफाँट–पात्लेखेतमा निर्माण हुने लामो पुलको सम्भाव्यता अध्ययनका लागि योजना सिफारिस गरिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जानकारी गराए ।

धौलागिरि गाउँपालिकाको मुदीदेखि खिबाङ गाउँ जोड्नका लागिसमेत लामो पुलको सम्भाव्यता अध्ययनका लागि सिफारिस गरिएको उनले बताए । अहिले यी ठाउँमा वारपारका लागि घण्टौँको फेरो बाटो हिड्नुपर्ने बाध्यता रहेको छ ।

लामो पुलहरुले एकापसमा आवतजावत गर्नका लागि सजिलो हुने भएकाले सम्भाव्यता अध्ययनका लागि सिफारिस गरेको जिसस प्रमुख केसीले जनाए । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका लागि नेपालकै लामो झोलुङ्गे पुल निर्माण भइसकेको छ ।

दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको सो ३६५ दशमलव ८० मिटर लामो झोलुङ्गे पुलले बेग र बाँदुक गाउँमा वारपारका लागि करीब तीन घण्टाको यात्रा ३० मिनेटमै छोटाएको छ ।

यसअघि जिल्लाको मौवाफाँट थाकनको डिलदेखि काउलेगौडाको फेदी, रत्नेचौरदेखि बागलुङको कुँडुले र गलेश्वरदेखि राममन्दिर जोड्ने गरी लामो पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिसकेको बताइएको छ ।