आर्थिक

‘वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन ऐनमा परिवर्तन हुनुपर्ने’

By Bala Adhikari

May 11, 2018

काठमाडौँ, वैशाख २८ । वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि वैदेशिक रोजगार ऐनमा समयानुकूल परिवर्तन हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

एमनेष्टी इन्टरनेशनल नेपालद्वारा आज आयोजित ‘नीति, संवादमा राज्य र व्यापारिक उत्तरदायित्वमा दुव्र्यवहार न्यूनीकरण’ विषयक कार्यक्रममा उनीहरुले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि यस सम्बन्धी ऐन र कानुनमा समयानुकूल परिमार्जन गर्नुपर्ने बताएका हुन् ।

उक्त अवसरमा वैदेशिक रोजगार विभागका निर्देशक भुवनप्रसाद आचार्यले वैदेशिक रोजगार सम्बन्धी विधमान ऐनले यस क्षेत्रमा देखिएको समस्या न्यूनीकरण गर्न नसक्ने भएकाले यसमा समयानुकूल परिमार्जन हुनुपर्ने बताए ।

महानगरीय प्रहरी परिसर टेकुका वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्रप्रसाद शर्माले बाध्यता र प्रलोभनका कारण नेपालका युवा मानव बेचबिखनमा पर्ने गरेको भन्दै विदेश जाने र पठाउने दुवैको मनसायका कारण पीडा पाइसकेपछि मात्र पीडित सम्पर्कमा आउने गरेको जनाए ।

एमनेष्टी इन्टरनेशनलका सचिव सोम लामिछानेले वैदेशिक रोजगारीमा ठगीको छानविनका लागिसमेत काठमाडौँ केन्द्रित भएकाले थप समस्या उत्पन्न भएको जनाउँदै वैदेशिक रोजगारीको विषयलाई स्थानीय रुपमा समेत विस्तार गर्नुपर्नेमा जोड दिए । मलेसियामा चार लाख दस्तावेजीकरण तीन लाख दस्तावेजविहीन कामदार रहेको पनि उनले जानकारी गराए ।

एमनेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष कुलप्रसाद कार्कीले वैदेशिक रोजगारी नेपालको बाध्यतामात्र नभई विकल्पका रुपमा राखिनुपर्ने बताए ।