जिल्ला-विशेष

बेसहारा तथा मनोरोगीलाई पुनःस्थापना गरिने

By Bala Adhikari

May 13, 2018

बुटवल, वैशाख ३० । सडकमा जीवन जिउन विताउँदै आएका बेसहारा तथा मनोरोगीलाई पुनःस्थापना गरिने भएको छ ।

सडकलाई वासस्थानको रुपमा लिँदै आएका बेसहाराहरुलाई आउँदो साउन महिनासम्ममा बुटवलका सडकलाई मानवरहित घोषणा गर्नेगरी पुनःस्थापना अभियान थालिएको छ । बुटवल उपमहानगरपालिकाको सहकार्यमा मानव सेवा आश्रमले आजदेखि सो अभियान थालेको हो ।

आश्रमका लागि उपमहानगरपालिकाले बुटवल–१३ जितगढीमा अर्को व्यवस्था नहुञ्जेलका लागि भवनसमेत उपलब्ध गराएको छ । तीन महिनाभित्रमा बुटवलका सडकमा जीवन बिताउन बाध्य भएकाहरुलाई औषधोपचारसहित आश्रममा लगेर स्याहार सुसार गरिने अभियन्ता रामजी अधिकारीले बताए ।

आश्रमको अभियान शुरु गर्दै नगर प्रमुख शिवराज सुवेदीले मानवताको शहरका रुपमा बुटवलको विकास गरिने प्रस्ट पारे । मानवीय सेवामा नगरवासीलाई पनि सहकार्य गर्न अनुरोध गर्दै उनले सडक मानवमुक्त अभियानले बुटवलवासीको गरिमा बढ्ने बताए ।

आश्रमका प्रमुख संरक्षक तथा डा गोविन्द टण्डनले सेवा गर्ने उद्देश्यले देशैभरि यस्तो अभियान अघि सारेको भन्दै आउँदो १० वर्षसम्ममा नेपाललाई नै सडक मानवमुक्त बनाउने गरी आफूहरु अभियानमा होमिएको बताए ।

आश्रमको मुख्य कार्यालय मकवानपुरको हेटौँडामा छ । यो कार्यालय २०६९ सालमा स्थापना भएको हो ।

यस्तै भरतपुर, काठमाडौँ, ललितपुर, गोरखा, लमजुङ, वीरगञ्ज, बागलुङ तथा कास्कीमा आश्रमका शाखा संचालित छन् ।