काठमाडौँ, वैशाख ३१ । शारीरिक रुपमा अशक्त भएका अपाङ्गहरुलाई लक्षित गर्दै गोँगबुको नयाँ बसपार्कमा अपांगमैत्री शौचालय निर्माण गरिएको छ ।
पचास वर्षका लागि नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिले शौचालय निर्माण गरेको हो । यस अघि बसपार्कभित्र अपांगमैत्री नभएका कारण उनीहरुलाई शौचालय जान कठिन हुने गर्दथ्यो ।
ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले अपांगता भएका यात्रुलाई लक्षित गरेर रु २५ लाख लागतमा शौचालय निर्माण गरेको बताए । शौचालयभित्र ह्विलचियरसमेत जान मिल्ने गरी निर्माण गरेको उनले जानकारी गराएका छन् ।
शौचालयभित्र महिला र पुरुषका लागि छुट्टाछुट्टै ढोकाको व्यवस्था छ । कूल १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा एक हजार सवारीसाधन पार्किङ गर्न मिल्नेछ ।