काठमाडौं, बैशाख ३१ । नेपाली काँग्रेसका नेता एवं सांसद गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई उनैले धार्मिक भ्रमण भनेकाले धेरै टिप्पणी नगर्ने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको भने कडा टिप्पणी गरेका छन् ।
आज संसदको विशेष समयमा बोल्दै उनले मोदीको भ्रमण कस्तो भन्नुभन्दा पनि नेपालका प्रधानमन्त्रीले लुकाउन खोजेका कुराप्रति आश्चर्य चकित परेको बताए । उनले सडकमा कुनै आरोप लाग्नुअघि नै ओलीले आफूले मुलुकको हित विपरीत नगरेको प्रतिक्रिया दिनुले धेरै कुरा लुकेको संकेत गर्दै प्रम ओली होसियार हुन खोज्दा चिप्लिएको संकेत गरे । उनले भने, ‘प्रधानमन्त्री ओलीको पहिलो दिन सम्झें हिजो प्रधानमन्त्रीले धेरै कुरा लुकाएको जस्तो लाग्यो ।
कसैलाई सिंगडा बेच्न गएको कसैलाई घुँडा टेक्न गएको भन्ने अहिले आफूले के गरेको ,भन्ने चाँही बिर्सेको ? ‘न संघर्ष न समर्पण भनेर बीपीले भन्दा महेन्द्रले हटाए उनले कड्किँदै भने । सुशील कोइरालाले घुँडा नटेक्दा नाकाबन्दी लाग्यो । अहिले भारतीय सेना आउँदा ओली किन चुप ?’ किन बोल्न सकेनन् हाम्रा प्रधानमन्त्री ? यसलाई लम्पसारवाद नभनी के भन्ने ? ‘ओलीलाई अहिले महालम्पसारवादी भन्न पाउने कि नपाउने सांसद थापाले प्रश्न गरे ।
उनले पेचिलो प्रश्न गर्दै भने, हिजो घुँडामा घाउ भयो कि भएन भन्नेलाई मैले सोध्न पाउने कि नपाउने कि प्रधानमन्त्री ज्यू तपाईको खुट्टामा भ्वाङ पर्यो कि परेन ? प्रदेश २ को मुख्यमन्त्रीले भन्दा किन चुप ? विदेशले मुख्यमन्त्री चिन्दैन परराष्ट्र मन्त्री चिन्छ । परराष्ट्र मन्त्रीले मुख्यमन्त्रीलाई तालाबन्दी दिने कि नदिने ? ‘मैले नाकाबन्दी बिर्सेको छैन भन्न जनताले पाउने कि नपाउने उनले प्रश्न गरे ।
यो कस्तो लम्पसारवाद हो आफ्ना कार्यकर्ता दूतावासमा विरोध गर्न जाँदा केही नहुने आज आफ्नो पार्टी कार्यालयमा विरोध गर्न नपाउने , कस्तो नियम हो प्रम ओली ज्यू ? हिजो अरुलाई कुरीकुरी गर्नेले आज नाङ्गै हिंड्दा के भन्ने ?’लगायतका विषयमा कडा रुपमा प्रस्तुत भएका सांसद थापाले अहिलेको सरकारको काम कर्तव्य र अधिकार माथि नै ठूलो प्रश्न गरेका छन् ।