शिक्षा

स्थायी शिक्षकको माग गर्दै बालुवाटारमा शिक्षकद्वारा धर्ना

By Bala Adhikari

June 20, 2017

काठमाडौँ, ६ असार । देशभर हालसम्म अस्थायी शिक्षकका रुपमा कार्यरत सबैलाई सामान्य प्रक्रिया पुर्याई स्थायी गर्न माग गर्दै अस्थायी शिक्षक संघर्ष समितिले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि धर्ना दिएका छन् । समितिले विभेदकारी भनिएको विज्ञापन खारेज गर्नुपर्ने, विगतका विज्ञापनबाट विस्थापित शिक्षकलाई स्थापित गर्नुपर्ने, सेवा अवधि गणना गर्नुपर्ने लगायत माग गर्दै धर्ना बसेका हुन् ।

देशभरबाट अस्थायी शिक्षकको प्रतिनिधित्व हुने गरी आएका प्रतिनिधिले बिहान ९ देखि ११ बजेसम्म गरेको धर्नामा करिब पाँच सयले सहभागिता जनाएका थिए । समितिका संयोजक वृन्दाकुमारदास चौधरीले लामो समय अस्थायीमा कार्यरत शिक्षकको ऊर्जाशील समय शिक्षण पेसामा खर्च भई अब अन्य विकल्प नरहेकाले स्थायी गर्न सरकारलाई अनुरोध गरे । समितिका महासचिव कुमोदलाल कर्णले देशभर हाल २६ हजार १६३ शिक्षक अस्थायी रहेको जनाए । अस्थायी शिक्षक संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी विभेदकारी भनिएको शिक्षक विज्ञापन खारेज नगरे आन्दोलन थप चर्काउने बताए ।

सोही माग पूरा गराउन भद्रकालीमा पनि पाँच शिक्षक यही असार २ गतेदेखि आमरण अनशन बसेका छन् । अनशन बस्नेमा किसुन यादव, जितबहादुर गुरुङ, कलावती जोशी, सुलेखादेवी कायस्थ र कलु केसी रहेका छन् । ती अनसनकारी शिक्षकको स्वास्थ्य स्थिति गम्भीर रहेको छ । पत्रकार सम्मेलनमा अस्थायी शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिका संयोजक चौधरीले अनशनमा रहेका शिक्षकको स्वास्थ्य अवस्था गम्भीर भएकाले शिक्षकको मागमा चाँडो भन्दा चाँडो ध्यान जानुपर्ने कुरामा जोड दिए । अस्थायी शिक्षक संघर्ष समितिका अध्यक्ष हेम चौलागाईंले अस्थायी शिक्षकका नाममा सरकारले अयोग्य जस्तो शब्द प्रयोग गरेर अस्थायी शिक्षकको आत्मसम्मानमाथि प्रहार गरेको आरोप लगाएका छन् ।