कभर स्टोरी

स्वीकृतबिना भारतीय पाठ्यपुस्तक पढाउने स्कूललाई स्पष्टीकरण माग

By Bala Adhikari

May 14, 2018

दमक, वैशाख ३१ । झापा दमकको एक विद्यालयसंग सरकारी स्वीकृतबिनाका भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको अभियोगमा स्पष्टीकरण मागिएको छ ।

दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलले आफूखुशी भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको भन्दै नगरपालिकाको शिक्षा समितिले उक्त स्कूललाई कारवाहीको प्रक्रिया अगाडि बढाएको हो । नेपाली राष्ट्रियतामाथि आँच आउनेखालका भारतीय पाठ्यपुस्तक पठनपाठन गराउँदै आएको गुनासो आएपछि समितिले आज स्कूल अनुगमन गरेको थियो ।

अनुगमनपछि समितिले स्कूललाई २४ घण्टे स्पष्टीकरण सोधेकोे शिक्षा अधिकृत शालिग्राम काफ्लेले बताए । स्कूलले कक्षा १ देखि १० सम्म अधिकांश भारतीय पब्लिकेशनका पुस्तक पढाउँने गरेको पाइएको छ । स्कूलले आफूले पढाउने पुस्तकको विषयमा शिक्षा कार्यालयमा जानकारी गराउनु पर्ने भए पनि हालसम्म त्यसो नगरेको उनको भनाइ छ ।

तोकिएको समयभित्रमा स्पष्टीकरण चित्तबुझ्दो नदिए विद्यालय बन्द गर्नेसम्मको कारवाही हुन सक्ने जनाउँदै शिक्षा अधिकृत काफ्ले सो स्कूलले आधारभूत तहमा भारतको दिल्लीस्थित इडुहेरल्स पब्लिकेशनका ‘इङ्लिस कन्भरसेसन’का पुस्तकमा राष्ट्रियतामाथि नै प्रश्न चिह्न खडा हुने किसिमका शैक्षिक सामग्री फेला परेको जनाए ।

त्यस पुस्तकमा भारतको झण्डा, आफ्नो जन्मभूमि भारत हो, हाम्रो राष्ट्रिय झण्डाजस्ता पाठ्यसामग्री समावेश गरिएको पाइएको बताउँदै उनले स्वीकृतबिनाका पाठ्यपुस्तक पढाएको स्कूल प्रशासनले स्वीकार गरेको र त्यस्ता पुस्तक आजदेखि हटाउने प्रतिबद्धता जनाएको छ ।

अनुगमनमा नगरपालिकाकी उपप्रमुख गीता अधिकारीसहितका शिक्षा समितिको एक टोली परिचालित थियो ।