कर्मचारीको तलब बढाउनुपर्ने र स्वेच्छिक अवकाश कार्यक्रम ल्याउनुपर्ने भन्दै निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले त्यसो नगरेमा देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गरी संगठनले यस्तो चेतावनी दिएको हो । सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष पुण्यप्रसाद ढकालले मूल्यवृद्धिका आधारमा कर्मचारीहरुको तलब वृछि गरिनुपर्ने माग राखेका हुन् ।
निजामती सेवा ऐनको दफा २७ अनुुसार भत्ता पुनरावलोन समितिलाई सक्रिय बनाई तलब बढाउनसमेत उनले माग गरेका छन् । वैशाख २३ गते बसेको आधिकारिक ट्रेड युनियनको बैठकले यस्तो निर्णय गरेको थियो ।
त्यस्तै, संगठनले स्वेच्छिक अवकाश प्रक्रियालाई तत्काल अघि बढाउनुपर्नेमा जोड दिएको छ । सरकारले अवकाश प्रक्रिया रोकेकोमा असन्तुष्टि जनाउँदै प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने ढकालले बताए ।
स्थानीय तहसम्म ट्रेड युनिनयको अधिकारलाई सुनिश्चित गर्नुपर्ने संगठनको माग छ । स्थानीय तहमा ट्रेड युनियन राख्न नपाउने भन्दै कानुन सच्याउनुपर्ने संगठनको माग छ ।