आर्थिक

तलब सुविधा लिन विधेयक पारित हुने समयसम्म पर्खनुु नपर्ने

By Bala Adhikari

May 16, 2018

हेटौँडा, जेठ २ । तलब तथा अन्य सेवासुविधा लिन प्रदेश नं ३ का मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यले विधेयक पारित हुने समयसम्म पर्खनुु नपर्ने भएको छ ।

प्रदेश नं ३ को आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभामा छलफलका क्रममा रहेको सेवासुविधा सम्बन्धी विधेयक पास नभएसम्मका लागि तलव र अन्य सेवासुविधा लिन सक्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुन समय लागेकाले तत्कालका लागि तलब सुविधा लिन बाटो खोलिएको सरकारका प्रवक्ता एंव आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले बताए ।

यो निर्णयसँगै अब मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभाका सदस्य तथा पदाधिकारीले तलब तथा सेवासुविधा लिन विधेयक पारित हुने समयसम्म पर्खिनु पर्दैन । प्रदेशसभा बैठकमा टेबुल भएको सो दुई विधेयक प्रदेशसभा विशेष समितिमा छलफलका क्रममा रहेको प्रदेशसभा सचिवालयका सचिव भरत बुढाथोकीले बताए ।

प्रस्तावित उक्त विधेयकमा मुख्यमन्त्रीले मासिक ७५ हजार, मन्त्रीले ५२ हजार, राज्यमन्त्रीले ४८ हजार र प्रदेशसभा सदस्यले रु ४५ हजार तलबसहित सेवासुविधा पाउने बताइएको छ । स्थानीय तहका जनप्रतिनिधिको तलबसम्बन्धी विधेयक भने प्रदेशसभाले पारित गरिसकेको छ ।