कभर स्टोरी

नेपालको लागि जापानले ६८ करोड सहयोग गर्ने

By Bala Adhikari

May 18, 2018

काठमाडौँ, जेठ ४ । नेपालको आर्थिक र सामाजिक विकास कार्यक्रमका लागि जापान सरकारले रु ६८ करोड ३२ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

नेपालका लागि जापान सरकारले यस प्रकारको आर्थिक सहयोग यसअघि पनि उपलब्ध गराउँदै आएको थियो । आज अर्थ मन्त्रालयमा जापानी राजदूत मासासी ओगवा र अर्थ सचिव डा राजन खनालले सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

आर्थिक सहायता रकम प्राकृतिक विपद्बाट क्षति भएका संरचना निर्माण र बाढीपहिरो नियन्त्रणमा खर्च गरिने सम्झौतापछि आयोजित कार्यक्रममा अर्थमन्त्रालयका सचिव डा खनालले बताएका छन् ।

जापानी राजदूत ओगवाले प्राकृतिक विपद्मा परेका नेपाली जनताको विकासमा सहायता रकमले मद्दत पुगोस् भन्ने चाहाना रहेको बताए । जापान र नेपाल प्राकृतिक विपद्मा परिरहने मुलुक हुन् । यसअर्थमा पनि जापानले नेपाललाई लगातार आर्थिक सहयोग गर्दै आएको छ ।