कभर स्टोरी

नेपाली खाना बनाउने प्रतियोगिता हुँदै

By Bala Adhikari

May 20, 2018

काठमाडौँ, जेठ ६ । परम्परागत तथा जातीय नेपाली खानालाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ स्नेहा ट्राभल मिडियाले प्रतियोगिता आयोजना गरेको छ ।

नेपाली खानालाई पर्यटनसँग जोड्न उक्त ट्राभल मिडिया नेपालले ‘सगतानी एक्जिम कलेज सेफ आइकन–२०१८’ आयोजना गर्न लागेको हो । उक्त प्रतियोगितामा १२ कलेजका ३६ विद्यार्थीले सहभागिता जनाउने भएका छन् ।

नेपालमै पहिलोपटक हुन लागेको सो प्रतियोगिता जेठ १५ देखि असार ३० गतेसम्म हुनेछ । जसमा नेपाली परम्परागत खाना, आदिवासी खाना, कन्टिनेन्टल तथा इटालियन खाना, इण्डियन खाना र चाइनिज खाना बनाएर प्रतिष्पर्धा गराइने भएको छ ।

उक्त प्रतियोगितामा भाग लिने विद्यार्थीलाई शनिबार युनिक्याम्पस पुतलीसडकमा तालीमसमेत दिइएको स्नेहा ट्राभल मिडिया नेपालका प्रबन्ध निर्देशक सुरेशचन्द्र बस्नेतले बताएका छन् ।

नेपालका विभिन्न कलेजमा पढ्ने विद्यार्थीको क्षमता अभिवृद्धिका लागि कलेजलाई मध्यनजर गर्दै यस्तो खालको प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार नगद र किचन सेट, दोस्रोलाई रु ३० हजार र किचन सेट र तेस्रोलाई रु १५ हजार र किचन सेट प्रदान गरिने आयोजकले जानकारी गराएको छ ।