कभर स्टोरी

मिटर जडान तथा नवीकरण नगरेका ट्याक्सीलाई कारबाही शुरु

By Bala Adhikari

May 21, 2018

काठमाडौँ, जेठ ७ । प्रिन्टर मिटर जडान नगरी चलाउने ट्याक्सीलाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गर्न थालेको छ ।

विभागले लामो समयदेखि सूचना जारी गरे पनि ट्याक्सीवालाहरुले लापर्वाही गरी प्रिन्टर मिटर जडान नगरेको तथा विभागमा नवीकरण नगरेका ट्याक्सीलाई कारबाही गर्न थालेको हो ।

यातायात व्यवस्था विभागमा १० हजार ६०० ट्याक्सी दर्ता भए पनि आठ हजार १०० ट्याक्सीमा मात्र प्रिन्टर मेशिन जडान गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । दुई हजार ५०० ट्याक्सीले अहिलेसम्म प्रिन्टर मेशिन जडान नगरेका र सोही ट्याक्सीमाथि छानबिन गरिरहेको उनको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखासँग मिलेर विभागले आइतबारदेखि कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्रिन्टर मेशिन जडान नगरेको, नवीकरण नभएको तथा मिटरमा हिँड्न नमान्ने ११९ ट्याक्सीलाई आइतबार कारबाही गरिएको महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले जानकारी गराएका छन् ।

यसैगरी ट्राफिक महाशाखाले यात्रुहरुलाई ठग्ने ट्याक्सीलाई लक्षित गरेर कारबाहीको जनशक्तिसमेत वृद्धि गरेको छ । पहिले १५/२० जनाको संख्यामा जनशक्ति खटाउने गरेकोमा अहिले ४० जना जनशक्ति परिचालन गरेको महाशाखाले बताएको छ ।