जिल्ला-विशेष

खोटाङमा एमाले उम्मेदवारको घरमा बम विस्फोट

By Bala Adhikari

June 21, 2017

खोटाङ, ७ असार । मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको नेकपा (एमाले) वडाध्यक्षका उम्मेदवार बनेका लिला चौहानको घरमा बम विस्फोट भएको छ । उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र आठमहिने भतिज किस्मत घरकै अगाडि रहेको भान्छा कोठामा बसेर खाना खाइरहेको बेलामा हिजो राति बम विस्फोट गराइएको छ ।

अपरिचित समूहले गराएको बम विस्फोटमा वडाध्यक्षका प्रत्याशी चौहानकी बुहारी शकुन्तला चौहान गम्भीर घाइते भएकी छिन । उनको दुवै खुट्टा डढ्नुका साथै चोट लागेको उम्मेदवार चौहानका भतिज दानबहादुर चौहानले बताएका छन् । शकुन्तलाको दाहिने खुट्टाको फिलामा समेत गहिरो चोट लागेको बताइएको छ । पहिलोपल्ट हानिएको बम विस्फोट नभएपछि तत्काल दोस्रो बम हानिएको स्थानीयवासीले बताए । चौहान परिवारका अनुसार अपरिचित दुई युवकले स्थानीयवासी कृष्ण खत्रीको घर सोधेर गएको आधा घन्टापछि बम विस्फोट भएको हो । उम्मेदवार चौहान चुनावी अभियानमा घरदैलो कार्यक्रमको समयमा विस्फोट गराइएको हो । बम विस्फोटबाट भान्साकोठामा जमिन फाटेको छ । चौहानको घरमा सुतली बम विस्फोट भएको अनुमान गरिएको प्रजिअ प्रल्हाद पोखरेलले बताएका छन् । घाइते शकुन्तलाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट गराइएको एमाले खोटाङका अध्यक्ष बबी चाम्लिङले बताएका छन् । चुनावको मुखमा आएर गरिएका यस्ता अपराधिक गतिविधिले जनतालाई आतंकित मात्र नवनाएर त्रासको वातावरण सिर्जना भइरहेकोप्रति सरकार र सरोकारवाला गम्भीर हुनु जरुरी देखिन्छ ।