समाचार

भक्तपुरमा रु पाँच लाख बराबरका पुस्तकालय र आकस्मिक कक्ष सञ्चालन

By Bala Adhikari

May 23, 2018

भक्तपुर, जेठ ९ । जनस्वास्थ्य कार्यालयको आकस्मिक कक्ष र जनज्योति पुस्तकालयको मंगलबार स्थानीय तहमा आफू निर्वाचित भएको एक वर्ष पुगेका अवसरमा भक्तपुर नगरपालिकाले उद्घाटन गरेको छ । नगरपालिकाले वडा नं २ स्थित देको–मिवा–इटापाके आवास योजनाको कार्यालय रहेको भवनमा सञ्चालनमा ल्याएको जनज्योति पुस्तकालयको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गरे । सिसी क्यामरासमेत जडान गरिएको सो पुस्तकालयमा साहित्य, दर्शन, इतिहासलगायत नेपाली र अंग्रेजी भाषाका करीब रु पाँच लाख बराबरका नयाँ तथा पुराना पुस्तक राखिएको नगर प्रमुख सुनिल प्रजापतिले बताएका छन् ।

नगरपालिकाद्वारा च्यामसिंहमा सञ्चालित जनस्वास्थ्य केन्द्रमा सञ्चालित आकस्मिक कक्षको उद्घाटन प्रमुख प्रजापति र उपप्रमुख रजनी जोशीले गरेका हुन् । पच्चीस श्ययाको ख्वप अस्पतालको निर्माणमा जुटेको नगरपालिकाले केन्द्रको आकस्मिक कक्ष सञ्चालनमा समेत ल्याएको छ ।

नगरपालिकाले च्यामसिंह, व्यासी र भगवती स्थानमा सञ्चालित केन्द्रमा दैनिक ३०० बिरामीलाई सेवा दिँदै आइ रहेको छ । च्यामासिंहस्थित केन्द्रबाट स्त्रीरोग, छाला, नाक–कान घाँटी, हाडजोर्नी, बालरोग, छातीरोग, मानसिक रोगलगायतका विशेषज्ञ सेवा उपलब्ध गराएको उनको भनाइ थियो । स्थानीयवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालित केन्द्रबाट भिडियो एक्स–रे (अल्ट्रासाउण्ड), सिआर एक्स–रे र आधुनिक प्रयोगशाला सेवा प्रदान गर्ने तयारी भइरहेको उाने बताएका छन् ।