जिल्ला-विशेष

स्थानीयस्तरले गाउँमा सुविधा बढाएसँगै रित्तिँदै भोजपुर सदरमुकाम

By Bala Adhikari

May 23, 2018

भोजपुर, जेठ ९ । सबै सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि भोजपुरको सदरमुकाम रित्तिँदै गइरहेको छ । संघीयताको कार्यान्वयनसँगै स्थानीय तह बलियो भएर ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार हुन थालेपछि गाउँ भरिन थालेका हुन् । मानिसको चहलपहल घट्न थालेपछि सदरमुकाममा सञ्चालित व्यवसाय भने ओरालो लाग्दो क्रममा देखिएको छ ।

यसरी स्थानीय तहको सुविधा भएसँगै व्यवसायीको चिन्ताको विषय बनेको छ । व्यवसायीले दैनिक गर्ने लाखौँको कारोबार अहिले हजारमा उत्रेको छ । बजार आउनुपर्ने काम गाउँबाटै हुन थालेपछि भोजपुर सदरमुकाम अहिले सुनसानजस्तै देखिन थालेको छ । “सिंहदरबारको अधिकार गाउँगाउँमा आएसँगै गाउँको विकास र रौनक बढेको छ ।

जन्म दर्ताको सिफारिस लिनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको साल्पासिलिछो गाउँपालिका–१ का वडाध्यक्ष गणेश बुढाथोकीले जानकारी गराए । अब स्थानीय तह नै बलियो भएपछि सदरमुकामसँगको काम पनि घट्दै गएको छ ।

सदरमुकाम छाडेर गाउँ फर्किएपछि जीर्ण भएका घर पनि काम लागिरहेका छन् । संघीयता कार्यान्वयन पछिको चहलपहलले गाउँमा उमंग छाएको पाइन्छ । गाउँपालिकामा चहलपहल बढेको बेला सदरमुकामको व्यापार व्यवसायमात्रै होइन सरकारी अड्डामा समेत सेवाग्राहीको चाप कम हुन थालेको छ । जिल्लाभरबाट विकासे कामका निवेदन बोकेका सेवाग्राहीले भरिभराउ भइरहने साविकको जिविस जिल्ला समन्वय समितिमा परिणत भएपछि सुनसान बनेको छ ।