डोल्पा जेठ ११ । डोल्पामा मोबाइल फोन सेवा अवरुद्ध हुँदै आएको छ । विद्युत्भार कटौतीका कारण ठूलीभेरी नगरपालिका अन्तर्गत जुफालमा रहेको मोबाइल टावरको सेवा नियमित संचालन हुन नसक्दा मोबाइल सेवा प्रभावित भएका हुन् ।
जुफालस्थित मोबाइल टावर सञ्चालनका लागि राखिएको सोलार ब्याट्रिले काम नगरेपछि विद्युत् आएकोे दिनमात्र टावर दिने र विद्युत् नआएको दिन दिनमा दश घण्टासम्म नमस्ते र स्काइ मोबाइल सेवा बन्द हुने गरेको जानकारी गराइएको छ । फोनमा ढुक्कसँग कुरा गर्न पनि बत्ती आउने दिन नै पर्खिनुपर्ने भएकाले सर्वसाधारण लामो समयदेखि समस्यामा छन् ।
विद्युत्को अभावका कारण मोबाइल सेवा प्रभावित हुन थालेपछि सर्वसाधारण लामो समयदेखि सञ्चारको सुविधाबाट पीडित हुँदै आएको छ । सदरमुकाम दुनैमा रहेको जैरीगाड जलविद्युत् आयोजनाबाट नियमित बत्ती आपूर्ति नहुँदा नियमित टावर सञ्चालनमा समयस्या देखिएको नेपाल दुरसञ्चार कार्यालय डोल्पा शाखाले बताएको छ ।
मोबाइल टावर राखिएको स्थान जुफालको बत्ती पालो परेको दिनमा माबाइलमा टावर हुन्छ, पालो नपरेको दिन भने राति ९ बजे देखि नै काटिएको टावर भोलि बिहान ७ बजे पछि मात्र आउँछ– त्रिपुरासुन्दरी नगरपालिका– १ का स्थानीय नैनानन्द देवकोटाले भने ।
विकट जिल्लामा फोन सम्पर्कको एकमात्र माध्यम रहेको मोबाइलको टावरमा समेत समस्या आउँदा सर्वसाधारणले समस्या भोग्दै आएका छन् । राति बिरामी पर्दा डक्टर बोलाउनु परेमा वा तत्काल कसैसँग सम्पर्क गर्न खोज्दा मोबाइलमा टावर नै नआउने उनको भनाइ छ ।
जुफालमा रहेको टावरलाई नियमित सञ्चालन गर्नका लागि सोलार थप्न माग गर्दै पटक\पटक नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जमा पत्राचार गरे पनि सुनुवाइ नभएको दुरसञ्चार कार्यालय डोल्पाका प्रमुख दयाविक्रम केसीको भनाइ छ ।
नेपाल टेलिकम क्षेत्रीय दुरसञ्चार कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश प्रधानका अनुसार यदि डोल्पाली जनतालाई टेलिफोन सेवामा असुविधा भएको हो भने जुफालमा सोलार थप्नका लागि तत्काल काम कारबाही अगाडि बढाउने बताए ।
ठूलीभेरी नगरपालिकाको कार्यालय जुफालले लेन्डलाइन फोन र एडिएसएल इन्टरनेट सेवाको माग गरेकाले उक्त सेवा सञ्चालनका लागि पनि जुफालको टावरमा पनि सोलार थप्ने क्षेत्रीय प्रमुख प्रधानले बताएका छन् ।