Uncategorized

‘काँग्रेसले युवामैत्री कार्यक्रम ल्याउनुपर्ने’

By Bala Adhikari

May 25, 2018

काठमाडौँ, जेठ ११ । काँग्रेसले विधान परिमार्जन गरेर युवामैत्री कार्यक्रम ल्याए मात्र आगामी निर्वाचनमा राम्रो परिणाम ल्याउने बताइएको छ ।

गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा आज आयोजित ‘वर्तमान राजनीतिक परिस्थिति काँग्रेसको अबको गन्तव्य’ विषयक कार्यक्रममा वक्ताले काँग्रेसले आफुलाई सच्याएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सोच र संगठनमा परिवर्तन गरेर काँग्रेस अगाडि बढ्ने बेला आएको बताएका छन् । प्रजातान्त्रिक आस्थाको केन्द्र काँग्रेस हो, काँग्रेसले सबै प्रजातन्त्रवादी शक्तिलाई समेट्नु आवश्यक छ उनले भने ।

सबै क्षेत्रको भरोसा गर्न लायक पार्टी काँग्रेस भएको भन्दै उनले जनताले काँग्रेसबाट नयाँपन खोजेको स्पष्ट धारणा व्यक्त गरे ।

सांसद भीमसेनदास प्रधानले कमजोर अवस्थामा रहेको काँग्रेसलाई बलियो बनाउनका लागि सबैले आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निभाउनु पर्ने भन्दै मुलुकका विभिन्न राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको काँग्रेस आज किन यस्तो अवस्थामा आयो, यसको बारेमा गम्भीर छलफल हुनु जरुरी रहेको विचार व्यक्त गरे ।

त्रिभुवन विश्वविद्यालयका प्राडा खगेन्द्र भट्टराईले काँग्रेस एकताबद्ध भएर संगठन निर्माणमा लाग्नुपर्ने बेला आएको उल्लेख गर्दै काँग्रेस हारेपनि प्रजातान्त्रिक विचारधाराको विजय भएको बताए ।

नेपाल वार एशोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले काँग्रेसको क्रियाकलापका कारण नेपालका वामपन्थी एक भएको भन्दै आगामी दिनमा काँग्रेस सच्चिएर अगाडि बढेमा मात्र सफल हुन सक्ने विचार प्रस्तुत गरे ।

डेमोक्रेटिक लयर्स एशोसिएसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले पार्टीले भ्रातृ तथा शुभेच्छुक संस्थालाई बेवास्था गर्नुका साथै निर्वाचनका बेला राम्रोसँग परिचालन गर्न नसक्नु काँग्रेस पराजयको मुख्य कारण भएको बताए ।

इञ्जिनियर एशोसिएसन नेपालका पूर्वउपाध्यक्ष धुव्र थापा, नेपाल प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दवाडी, नेपाल प्राध्यापक संघका उपाध्यक्ष विनोदकुमार श्रेष्ठलगायतले मुलुकको राजनीतिक अवस्था र काँग्रेसले निर्वाह गर्नुपर्ने भूमिकाका विविध पक्षमाथि चर्चा गरे ।